
भारतका चर्चित कलाकार प्रदीप रावतको निधन भएको छ । भारतीय कलाकार यशपाल शर्माले सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गरेका हुन् । अभिनेत्री रोशनी आचरेजाले पनि एनडीटीभीसँग कुराकानी गर्दै प्रदीप रावतको निधन भएको जानकारी दिइन् । उनको निधनबारे भारतीय सञ्चारमाध्यमहरूले पनि समाचार प्रकाशित गरेका छन् ।
भारतीय मिडियाका अनुसार ७४ वर्षका राउत करिब पाँच वर्षदेखि ब्लड क्यान्सरसँग जुधिरहेको थिए । उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको भए पनि केही महिनाअघि क्यान्सर पुनः देखिएको थियो । अन्ततः मंगलबार साँझ उनले मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचारकै क्रममा अन्तिम सास लिए । परिवारका अनुसार उनको अन्तिम संस्कार बुधबार गरिनेछ ।
२१ जनवरी १९५२ मा भारतको मध्य प्रदेशस्थित जबलपुरमा जन्मिएका रावतले प्रसिद्ध टेलिसिरियल ‘महाभारत’ (१९८८)बाट अभिनय यात्रा सुरु गरेका थिए । यसमा अश्वत्थाको भूमिकामा अभिनय गरेपछि दर्शकमाझ चिनिएका उनलाई तमिल र हिन्दी भाषामा बनेको फिल्म ‘गजनी’ले लोकप्रियताको उत्कर्षमा पुर्याएको थियो । यसमा उनी नकारात्मक भूमिकामा थिए ।
उनले अभिनय गरेको पहिलो हिन्दी फिल्म भने ‘मेरी जंग’ हो । सन् २००४ मा फिल्म ‘साइ’बाट तेलुगुमा र सन् २००५ मा ‘थोट्टी जया’बाट तमिल फिल्ममा डेब्यू गरेका उनले भोजपुरी, कन्नड, मलयालम, बंगाली, मराठी, अंग्रेजी, ओडिसाजस्ता विभिन्न भाषाका २ सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । त्यसमा तीन फिल्म नेपाली पनि पर्छन् ।
उनले ‘ह्रस्व दीर्घ’बाट नेपाली फिल्ममा डेब्यू गरेका थिए । यसमा उनी अभिनेत्री नीता ढुंगानाको बुबाको भूमिकामा थिए । यसपछि ‘आ बाट आमा’मा देखिएका उनले यो फिल्मको सिक्वेलमा पनि अभिनय गरेका छन्, जुन दशैंमा रिलिज हुँदैछ । उनले केही साताअघि नेपाल आएर आफ्नो भागको छायांकन सकाएका थिए ।
उनको निधनप्रति नेपाली कलाकारहरू विपना थापा, नीता ढुंगाना, उषा उप्रेती, सविन श्रेष्ठ, विशाल पहारीलगायतले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । उनलाई लिएर एक भोजपुरीसहित तीन नेपाली फिल्म बनाएका निर्देशक चन्द्र पन्तले पनि फेसबुकमा एक पोस्ट लेख्दै उनको आत्माको शान्तिको कामना गरेका छन् ।

