अभिनेत्री नीता ढुंगानाले फिल्म क्षेत्रमा दुई दशक विताइसकेकी छन् । यो अवधिमा ३० भन्दा बढी फिल्ममा अभिनय गरेर दर्शकमा आफ्नो गहिरो छाप छाडेकी उनले अब निर्देशकको रूपमा आफूलाई उभ्याएकी छन् । उनको पहिलो निर्देशकीय फिल्म ‘पार्वती’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनी स्वयं मुख्य भूमिकामा छिन् ।
उनको पहिलो निर्देशकीय परीक्षा कस्तो रहन्छ, त्यो फिल्म रिलिजपछि नै थाहा हुनेछ । तर, उनले कथावाचनमा भने राम्रो संकेत देखाएकी छन् । चार दिनअघि युट्युबमा रिलिज भएको टिजरमा उनको परिपक्व कथावाचन शैली झल्किएको छ । दिदीभाइबीचको भावनात्मक सम्बन्धलाई देखाउन खोजिएको टिजरमा नीताको अभिनयले पनि दर्शकलाई प्रभावित पारेको छ ।
रिलिजको चार दिनमा साढे ८ लाखभन्दा बढी भ्यूज पाइसकेको टिजरको कमेन्ट सेक्सन नीताको अभिनयको प्रशंसाले भरिएको छ । प्रायःले उनको अभिनयले भावुक बनाएको प्रतिक्रिया दिएका छन् । कतिपयले उनलाई अभिनयको वरदान लिएर जन्मिएकी कलाकार भन्दै प्रशंसा गरेका छन् । गायक तथा कलाकार अशोक दर्जीको अभिनयलाई पनि दर्शकले रुचाएका छन् ।
फिल्ममा नीताले अजिटम (स्नायु विकाससम्बन्धी समस्या) भएकी पार्वती पात्रको भूमिकामा अभिनय गरेकी छन् । टिजर हेर्दा उनले उक्त पात्रको मनोविज्ञान, हाउभाउ र भावभंगीलाई जीवन्त रूपमा पर्दामा उतारेको देखिन्छ । विशेषगरी भाइको भूमिकामा रहेका अशोकसँगको संवादको क्रममा उनको अभिनय निकै प्रभावशाली देखिएको छ ।
नीता फिल्म्सको प्रस्तुतिमा बनेको यस फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, आशा पौडेल, राधिका कँडेल, राजेन्द्र नेपाली, सुवास गजुरेललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई ज्योतिष हरिहर अधिकारीले निर्माण गरेका हुन् । फिल्मको कथा नीता स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् ।

