नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले देशका लागि राजसंस्था अपरिहार्य रहेको बताएकी छन् । शनिबार शाही युवा शक्ति नेपालले काठमाडौंमा आयोजना गरेको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान’ कार्यक्रममा सहभागी हुने क्रममा उनले सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रियता जोगाउन संवैधानिक राजसंस्था आवश्यक रहेको औँल्याएकी हुन् ।
उनले भनिन्, ‘यो देशका लागि राजसंस्था एकदमै अपरिहार्य छ । हामी सांस्कृतिक रूपमा बलियो छौं । तर, नेपालीभन्दा विदेशी शक्तिहरूको आवाज बलियो हुँदा राष्ट्रियता कमजोर भयो । यसैले जसको पुर्खाले यो देश बनायो, त्यो संस्थाप्रति हामी सधैं कृतज्ञ हुनुपर्छ । र, राजसंस्थालाई पनि कुनै न कुनै रूपमा ठाउँ दिनुपर्छ ।’
उनले आफू लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने भएकाले संवैधानिक व्यवस्थासहितको राजसंस्था चाहेको बताइन् । ‘सबैभन्दा पहिला हामीले राष्ट्रियतालाई जोगाउनुपर्छ । स्वाभिमानी नेपाली भएर हामीलाई बस्नु छ भने राजसंस्था आवश्यक छ,’ उनले अगाडि भनिन्, ‘म लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने मान्छे हुँ । यसैले देशमा संवैधानिक राजसंस्था चाहिन्छ ।’
गणतन्त्र र बहुदलीय व्यवस्थापछि पनि नेपाली जनताले देखेको समुन्नत र बलियो राष्ट्रको सपना अझै पूरा हुन नसकेको टिप्पणी गर्दै मनिषाले अब राजसंस्था पुर्नस्थापनका लागि सबै नेपाली अगाडि आएर बोल्नुपर्ने धारणा व्यक्त गरिन् । उनले राजसंस्था फर्काउन सुरु भएको देशव्यापी हस्ताक्षर अभियानमा सहभागी हुन पनि आग्रह गरिन् ।

