Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बा: एक योद्धा’को मर्मस्पर्शी गीत ‘चढेको बुई नबिर्स’ सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2026/07/31

BAA - EK YODDHA

 

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बा: एक योद्धा’को पहिलो गीत ‘चढेको बुई नबिर्स’ सार्वजनिक गरिएको छ । मर्मस्पर्शी भावको यस गीतमा सञ्जीव थापाको शब्द तथा हरि लम्सालको संगीत र स्वर रहेको छ । जति नै माथि पुगे पनि जन्म दिने बुबाआमा र जन्मिएको माटो नबिर्सन गीतले अपिल गरेको छ । 

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू झरना थापा, दिव्यदेव पन्त र सुहाना थापा देखिएका छन् । दिव्यदेव र झरना श्रीमान्-श्रीमतीको भूमिकामा छन् भने सुहानाले विवाहित छोरीको भूमिकामा अभिनय गरेकी छन् । भिडियोका दृश्यमार्फत सन्तानका लागि बाबुआमाले गर्ने संघर्ष र त्याग दर्शाउन खोजिएको छ । 

संगीतकार हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दिव्यदेव, झरना र सुहानासहित माओत्से गुरुङ, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, शवि थापा, अनिल बुढाथोकी, चन्द्र नेपाल, करण शाहलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई गायक वसन्त लम्सालले निर्माण गरेका हुन् । उनले यसअघि फिल्म ‘कर्मा’ बनाएका थिए ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा शिवराम श्रेष्ठको छायाकंन, मित्र डि गुरुङको सम्पादन, हरि लम्सालको संगीत, सुरेन राईको कोरियोग्राफी तथा रोमन बज्राचार्यको पार्श्व ध्वनी रहेको छ । नेपाली समाजमा सन्तानको भविष्यका लागि बुबाआमाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीलाई फिल्ममा प्रस्तुत गरिएको जनाइएको छ ।