
‘बुलाकी’बाट लेखन विधामा राष्ट्रिय अवार्ड जितेका राजबहादुर सानेको निर्देशनमा बनेको फिल्म ‘लज्जावती’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले ३ मिनेट लामो ट्रेलर दर्शकमाझ ल्याएको हो । ट्रेलरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ ।
ट्रेलरमा दुई जोडीको प्रेमकथा देखाइएको छ । एक जोडी (मुकुन भुसाल र जानुका विश्वकर्मा)को प्रेम सुमधुर देखिन्छ । तर, श्रीकृष्ण निरौला र मेनुका माझीको प्रेममा भने परिवार बाधक बनेको छ । ट्रेलरमा उनीहरूको सम्बन्धमा आउने उतारचढावलाई नै केन्द्रमा राखिएको छ । समग्रमा ट्रेलर प्रेम, विछोड, मित्रता र बदलामा केन्द्रित छ ।
आहा फिल्म्स र क्यानी मल्टिभिजन आइएनसीको सहकार्यमा निर्माण भएको फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, धिरेन शाक्य, जानुका विश्वकर्मा, मेनुका माझी, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दीपक थापालगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको लेखन निर्देशक साने स्वयंको हो ।
सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् । दिनेश बुढाथोकी कार्यकारी निर्माताको रूपमा छन् । फिल्ममा दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, बाबुल गिरीको संगीत तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । यो फिल्म साउन २९ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।

