
‘एक्सन स्टार’को रूपमा परिचित निखिल उप्रेतीको निर्देशकीय कमब्याक फिल्म ‘आचार्य’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । इन्द्रजात्राको अवसर पारेर असोज ९ गते (२५ सेप्टेम्बर)बाट प्रदर्शनमा आउन लागेको फिल्मको सार्वजनिक पोस्टरमा निखिल मात्र प्रस्तुत भएका छन् । पोस्टरमार्फत फिल्म एक्सनप्रधान रहेको संकेत दिन खोजिएको छ ।
पोस्टरमा निखिल ‘शर्टलेस’ अवतारमा देखिएका छन् । कम्मरमा धोती बाँधेका उनले आँखामा ‘भीआर’ लगाएका छन् । उनको दायाँ हातमा चील बसेको छ भने पिठ्यूँमा ‘२.०’ र ‘धर्मसंस्थापनार्थाय संभवामि युगे युगे’ (धर्मको स्थापना गर्न म प्रत्येक युगमा प्रकट हुन्छु) लेखिएको ट्याटु देखिन्छ । यसले धर्म स्थापना गर्ने पात्रको कथामा फिल्म आधारित रहेको स्पष्ट संकेत दिन्छ ।
निखिल उप्रेती प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्ममा निखिलको जोडी पूर्णिका सिंजापतिसँग बाँधिएको छ । उनीहरूसहित फिल्ममा प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, निर्मल शर्मा, रक्षा गौतम, भारतीय कलाकार दीपराज राणाको पनि अभिनय रहेको छ । फिल्मको लेखन निखिल स्वयंले गरेका हुन् भने छायांकन मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाको रहेको छ ।
कृष्ण भट्टराईको लगानीमा निर्माण भएको फिल्ममा बन्दे प्रसादले सम्पादन, शुक्रराज शाहको द्वन्द्व निर्देशन, युग भुसालको संगीत निर्देशन, राजेन्द्र मोक्तानको रंग संयोजन, कालाचरणको पार्श्व ध्वनी (ब्याकग्राउन्ड स्कोर) तथा किरण थापाको कोरियोग्राफी रहेको छ । ३ करोडमाथिको लगानीमा निर्माण भएको फिल्मले एक्सनमा नयाँ ‘ट्रेन्ड सेट’ गर्ने अपेक्षा गरिएको छ ।

