Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रतिज्ञा’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै सुशील

फिल्मीखबर, काठमाडौं, 2026/07/30

Sushil Pokharel

 

फिल्म निर्माता सुशील पोखरेलले निर्देशनमा डेब्यू गर्ने भएका छन् । पछिल्लो पटक ‘परालको आगो’ बनाएका उनले फिल्म ‘प्रतिज्ञा’बाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । बिहीबार उनले ‘एआई जेनेरेटेड’ (कृत्रिम बुद्धिमत्ता) पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेका हुन् । पोस्टर हेर्दा फिल्म धार्मिक कथावस्तुमा बन्ने अनुमान लगाउन सकिन्छ ।

फिल्मको घोषणा गर्दै सुशीलले भनेका छन्, ‘निर्माताको रूपमा मेरो पुनरागमनलाई ‘परालको आगो’को सफलताले सफल बनायो । अब मेरा जिम्मेवारीहरू अझ बढेका छन् । पर्दामा यसअघि कहिल्यै नदेखिएको कथासहित मेरो १४औँ फिल्म आउँदैछ । नेपाली फिल्ममा मेरो तीन दशक लामो निर्माण अनुभवलाई ‘प्रतिज्ञा’मार्फत निर्देशनमा प्रस्तुत गर्दैछु ।’ 

हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा अहिलेसम्म कलाकार तथा प्राविधिकको टुंगो लागेको छैन । अहिले स्क्रिप्टलाई अन्तिम रूप दिने काम भइरहेको निर्माता पोखरेलले बताए । उनका अनुसार स्क्रिप्ट पूर्ण रूपमा तयार भएपछि कलाकार छनोटको प्रक्रिया अगाडि बढ्नेछ । फिल्मलाई यसै वर्षको चैतमा प्रदर्शन गर्ने उनको तयारी छ । 

२०५४ सालदेखि फिल्म निर्माणमा सक्रिय पोखरेलले यसअघि ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘लभ सब’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘राधे’, र ‘यात्रा’ जस्ता फिल्म निर्माण गरिसकेका छन् । यसमध्ये ‘जय शिव शंकर’, ‘जीवनदाता’, र ‘मैदान’ व्यावसायिक रूपमा सफल भएका थिए । उनको पछिल्लो फिल्म ‘परालको आगो’ले पनि सन्तोषजनक व्यापार गरेको थियो ।