Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युट्युबदेखि टिकटकसम्म छायो ‘बेहुली’को गीत

फिल्मीखबर, काठमाडौं, 2026/07/30

DILMA THHAU CHA-SCREENSHOT

 

गत वैशाखमा प्रदर्शन भएको फिल्म ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ले लामो समय सामाजिक सञ्जाल कब्जा गर्‍यो । टिकटकमा मात्र गीतमाथि ५ लाखभन्दा बढी भिडियो बने । युट्युबमा भ्यूज ४ करोडभन्दा बढी छ । तर, यसपछि कुनै फिल्मका गीत दर्शकको रोजाइमा पर्न सकेका थिएनन् । यतिबेला भने फिल्म ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ गीत चर्चामा छ । 

६ दिनअघि रिलिज भएको उक्त गीतले यो समाचार तयार पार्दासम्म युट्युबमा १७ लाखभन्दा बढी भ्यूज पाइसकेको छ । गीतलाई प्रतिक्रिया पनि उत्कृष्ट मिलेको छ । प्रायःले टिकटकबाट गीत हेर्न आएको प्रतिक्रिया दिएका छन् । यसले गीतको लोकप्रियता टिकटकले बढाइरहेको प्रस्ट देखाउँछ । अहिलेसम्म गीतमाथि २ लाख ८० हजारभन्दा बढी टिकटक बनिसकेका छन् ।

छोटो समयमै गीत लोकप्रिय बन्नुको पछाडि यसको संगीत पक्ष मुख्य कारण देखिन्छ । अर्जुन पोखरेलले लोक–आधुनिक शैलीमा तयार पारेको संगीतले गीतलाई कर्णप्रिय बनाएको छ । अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको गायकी गीतको अर्को सशक्त पक्ष हो । भिडियोको आकर्षक कोरियोग्राफीले पनि गीतप्रति दर्शकको ध्यान तानेको देखिन्छ । 

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको यस फिल्ममा पारस बम ठकुरी (कुल ब्वाय), दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । 

हरितालिका तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा प्रताप शमशेर राणा निर्माता तथा संगीतकार अर्जुन पोखरेल प्रस्तुतकर्ताको रूपमा छन् । शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता रहेको फिल्मका सह-निर्माताहरू दुर्गा खरेल (गायिका) र शिशिर श्रेष्ठ हुन् । फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने विकास दाहालको सम्पादन रहेको छ ।