
नेपाली फिल्ममा दशकौंदेखि स्थापित हिरोको परम्परागत मानकभित्र अटाउने अनुहार हुन्, अरुण क्षेत्री । मिलेको जिउडाल, अग्लो कद र चकलेटी लुक्सका कारण पहिलो फिल्म ‘महापुरुष’बाटै उनी चर्चामा आएका थिए । त्यस फिल्ममा उनको अभिनयको पनि प्रशंसा भएको थियो । तर, ठूलो ‘स्टारकास्ट’ हुँदा फिल्म सफल भए पनि उनी कहीँ न कहीँ छायाँमा परेका थिए ।
‘महापुरुष’पछि उनी ‘प्रेमा’, ‘ज्याकीः आइएम ट्वान्टिवान’ र ‘पहाड’जस्ता फिल्ममा देखिए । तर, यी फिल्म असफल हुँदा उनको काम पनि ओझेलमा पर्यो । तर, यतिबेला भने उनी चर्चाको उत्कर्षमा छन् । कारण- ‘गौँथली’को सफलता । १ साउनबाट प्रदर्शन भएको यो फिल्मले यतिबेला बक्स अफिसमा सुनामी नै ल्याएको छ । सोमबारसम्म फिल्मले ८ करोडमाथि कमाइसकेको छ ।
फिल्मको व्यावसायिक सफलतासँगै अरुणको अभिनयको पनि चर्चा भइरहेको छ । फिल्ममा उनी अटिजम भएको ‘ठूले’ पात्रको भूमिकामा छन् । त्यस पात्रको मनोविज्ञानदेखि हाउभाउसम्म उनले पर्दामा जीवन्त रूपमा उतारेका छन् । फिल्म हेर्दा दर्शकलाई हलमा बाँधेर राख्ने महत्त्वपूर्ण पात्र हुन् उनी । केही दृश्यमा उनको अभिनयले नै दर्शकलाई भावुक बनाउँछ ।
एकातिर ‘गौँथली’को अभूतपूर्व व्यावसायिक सफलता र अर्कोतिर अभिनयको प्रशंसा हुँदा धेरैले अरुणलाई अबको ‘स्टार’को रूपमा हेर्न थालेका छन् । उनलाई अहिले फिल्म अफरको समेत चाप बढेको छ । ‘गौँथली’ रिलिजयता उनलाई करिब आधा दर्जन फिल्मबाट अभिनयको प्रस्ताव आइसकेको बुझिएको छ । तर, उनले तत्काल कुनै नयाँ फिल्म सम्झौता गरेका छैनन् ।
करिब एक दशकयता केही सीमित ‘स्टार’ कलाकारमा निर्भर रहेका नेपाली निर्माताहरूका लागि अब अरुण पनि पहिलो रोजाइ बन्ने देखिन्छ । ‘गौँथली’बाट उनको स्टारडम समेत चुलिएको छ । अभिनयमा त उनले आफूलाई पटकपटक प्रमाणित गरिसकेका छन् । यसरी हेर्दा अरुण फिल्म क्षेत्रमा लामो रेसको घोडा बन्ने सम्भावना बलियो देखिन्छ ।

