
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको करिअर यतिबेला संकटग्रस्त अवस्थामा छ । विगत ८ वर्षदेखि उनले एउटा पनि हिट फिल्म पाएकी छैनन् । यो बीचमा उनको मुख्य भूमिका रहेका ७ वटा फिल्म फ्लप भइसकेका छन् । यसैले पछिल्लो समय फिल्ममा उनको माग घट्न थालेको देखिन्छ । गएको दुई वर्षमा उनी दुईवटा फिल्ममा मात्र अनुबन्धित हुनु त्यसकै संकेत हो ।
उनले केही समयअघि मात्र फिल्म ‘आहुति’को छायांकन सकाएकी छन् । तर, फिल्म रिलिजको भने टुंगो छैन । अब उनी अर्को नयाँ फिल्म ‘एक्का मिस्सी बादशाह’मा देखिँदैछिन् । यो फिल्मको शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरियो । सञ्जय राईको निर्देशनमा बन्ने यस फिल्ममा उनी बोल्ड भूमिकामा प्रस्तुत हुने जनाइएको छ ।
फिल्मको घोषणा कार्यक्रममा साम्राज्ञीलाई पत्रकारले फिल्ममा कम देखिनुको कारणबारे प्रश्न गरेका थिए । त्यसबारे उनले भनिन्, ‘म कम फिल्म गर्छु तर ‘क्वालिटी’को गर्छु भनेर कम फिल्म गरिरहेको हुँ । बीचमा फिल्मको अफर नआएको होइन, तर कुनै स्क्रिप्टले पनि छुँदै छोएन । मलाई मनपर्ने स्क्रिप्ट र क्यारेक्टर नै नभेटेपछि बरु फिल्म नै गर्दिनँ भनेर बसेकी थिएँ ।’
फिल्म नगर्दा सुटिङको माहोल भने एकदमै मिस हुने उनको भनाइ छ । ‘फिल्ममा म मात्र काम गरिरहेको हुँदिनँ । लाइटम्यानदेखि मेकअप आर्टिस्टसम्म सयौँले काम गरिरहनुभएको हुन्छ । चिसो मौसममा काम गर्दा क्यामेरा अगाडि म कापेको हुन्छु होला तर क्यामेरा पछाडि सबै टिम कापिरहेको हुन्छ । गर्मी मौसममा पनि त्यही अवस्था हुन्छ । त्यसको मजा नै छुट्टै छ,’ उनी सम्झन्छिन् ।
पछिल्लो समय नेपाली फिल्मले राम्रो गरिरहेकोमा उनी खुसी देखिन्छिन् । विश्वभर नेपाली फिल्मको चर्चा हुने गरेको बताउँदै उनी भन्छिन्, ‘पहिला म कति ठाउँमा जाँदा दर्शकहरूले नेपाली फिल्म ‘रियालिस्टिक’ नै लाग्दैन भन्नुहुन्थ्यो । तर, अहिले म जहाँ जान्छु, त्यहाँ फिल्मको चर्चा भएको पाउँछु । कलाकारहरूको काम पनि चर्चा हुन्छ । त्यो सुन्दा एकदमै खुसी लाग्छ ।’

