Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा ‘गौँथली’को सुनामी, शनिबार नै कमायो डेढ करोडमाथि

फिल्मीखबर, काठमाडौं, 2026/07/26

Gauthali Nepali Movie

 

नेपाली फिल्मका लागि असार र साउन ‘अफसिजन’ मानिन्छ । यी दुई महिना लगातार पानी पर्ने भएकाले हलमा दर्शक आउँदैनन् भन्ने विश्वास नेपाली निर्माताहरूमा छ । यसैले असार र साउनमा ठूलो ‘स्टारकास्ट’ भएका फिल्म खासै रिलिज हुँदैनन् । प्रायः प्रचारप्रसारमा खर्च गर्न नसक्ने निर्माताहरूका फिल्म मात्र यी महिनामा बढी रिलिज हुने गरेको पाइन्छ । 

तर, अघिल्लो साता (१ साउन)देखि प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले लामो समयदेखि स्थापित दुई भाष्यलाई पूर्ण रूपमा गलत सावित गरेको छ । पहिलो, असार–साउनमा फिल्म चल्दैन भन्ने मान्यता यसले तोडेको छ । यो फिल्मले बक्स अफिसमा यतिबेला सुनामी नै ल्याएको छ । दोस्रो, फिल्म सफल हुन अनिवार्य स्टार कलाकार चाहिन्छ भन्ने धारणालाई पनि यसले चुनौती दिएको छ ।

दर्शकबाट उत्कृष्ट ‘वर्ड अफ माउथ’ पाएको ‘गौँथली’ले प्रदर्शनको दोस्रो सातामा आइपुग्दा व्यापारमा अभूतपूर्व छलाङ मारेको छ । दोस्रो साताको शनिबार (हिजो) फिल्मले प्रदर्शनयताकै उच्च कमाइ गर्‍यो । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार फिल्मले शनिबार १ करोड ६५ लाखमाथिको व्यापार गरेको छ । यो नेपाली फिल्मको यस वर्षको सबैभन्दा धेरै एकदिने कमाइ हो । 

शनिबारको व्यापारसँगै फिल्मले बक्स अफिसमा ६ करोडको आँकडा पार गरेको छ । आइतबार बिहान १०:२५ सम्म फिल्मले ६ करोड ५८ लाख रुपैयाँ ग्रस कमाइ गरिसकेको जनाइएको छ । आइतबार पनि बिहानैदेखि देशभरका हलमा फिल्म हेर्ने दर्शकको चाप उच्च रहेकाले सोमबार बोर्डको बक्स अफिस तथ्यांक आउँदा ७ करोडमाथिको व्यापार देखिने निश्चित छ । 

यस वर्ष सबैभन्दा धेरै कमाउने फिल्मको कीर्तिमान ‘लालीबजार’सँग छ । यो फिल्मले ३ लाख १६ हजारभन्दा बढी टिकट बिक्री गर्दै त्यसबापत ९ करोड ३२ लाखमाथि व्यापार गरेको बोर्डको तथ्यांकमा देखिन्छ । यसको रेकर्ड ‘गौँथली’ले यही साता तोड्ने निश्चित प्रायः छ । फिल्मको व्यापारिक रफ्तार हेर्दा १५ करोडको आँकडा सजिलै पार हुने देखिन्छ । 

डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको यस फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । फिल्मले शिक्षाको महत्त्व दर्शाउँदै श्रीमान्-श्रीमतीको सम्बन्धको कथा प्रस्तुत गरेको छ ।