
साउथ सुपरस्टार जूनियर एनटीआर विश्वमै परिचित नाम बनिसकेका छन् । विशेषगरी सन् २०२२ मा रिलिज भएको ब्लकबस्टर फिल्म ‘आरआरआर’ले उनको लोकप्रियता थप उचाइमा पुर्यायो । फिल्म ‘वार २’बाट बलिउडमा समेत डेब्यू गरिसकेका उनले ‘अरविन्द समेथा’, ‘टेम्पर’, ‘जनता ग्यारेज’, ‘साम्बा’ र ‘आधी’ जस्ता थुप्रै सफल फिल्म दिइसकेका छन् ।
एनटीआरलाई अभिनय भने विरासतमा मिलेको हो । उनका हजुरबुबादेखि पितासम्म सफल कलाकार थिए । उनका हजुरबुबा एनटी रामाराव (नन्दमुरी तारक रामाराव) ७० को दशकका चर्चित अभिनेता थिए । उनको अभिनयसँगै राजनीतिमा पनि सक्रियता थियो । तीन सयभन्दा ज्यादा तेलुगु फिल्ममा काम गरेका उनी तीन पटक आन्ध्र प्रदेशको मुख्यमन्त्री समेत भएका थिए ।
एनटीआरका पिता नन्दमुरी हरिकृष्णा पनि तेलुगु फिल्मका अभिनेता थिए । उनी राजनीतिमा पनि उतिक्कै सक्रिय थिए । सन् १९६४ मा फिल्म ‘श्री कृष्णवतारम’मा बाल कलाकारको रूपमा अभिनय करिअर सुरु गरेका उनको अभिनेताको रूपमा पहिलो फिल्म भने ‘टल्ला पेल्लामा’ थियो । उनी ५ वर्ष (२००८ देखि २०१३ सम्म) राज्यसभाको सांसद समेत रहेका थिए ।
एनटीआरका भाइ नन्दमुरी कल्याण राम पनि अभिनयमा सक्रिय छन् । उनी एक्सन फिल्ममा रुचाइएका अभिनेतामा पर्छन् । त्यस्तै, एनटीआरका काका नन्दमुरी बालकृष्ण (उनी बलैया उपनामले चिनिन्छन्) पनि तेलुगुका लोकप्रिय अभिनेता हुन् । ४० वर्षदेखि अभिनयमा सक्रिय रहेका उनले एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।
जूनियर एनटीआरले भने बाल कलाकार हुँदै सन् २००१ मा प्रदर्शन भएको फिल्म ‘निन्नु चूडालानी’बाट अभिनेताका रूपमा डेब्यू गरेका थिए । त्यही वर्ष एसएस राजामौली निर्देशित फिल्म ‘स्टुडेन्ट नम्बर वान’बाट ठूलो सफलता पाएका उनी अहिले तेलुगुका सर्वाधिक खोजिने स्टारमध्ये एक बनेका छन् । उनले एक फिल्मबापत एक सय करोडसम्म पारिश्रमिक बुझ्ने गरेको चर्चा छ ।

