Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिव्य र झरना अभिनीत ‘बा : एक योद्धा’को टिजरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2026/07/24

BAA - EK YODDHA

 

आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बा : एक योद्धा’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेनमेन्टको यट्युब च्यानलबाट सार्वजनिक टिजरले फिल्मको कथावस्तु प्रस्ट पार्ने प्रयास गरेको छ । एक बाबुले आफ्नो परिवार जोगाउन गरेको संघर्षको मर्मस्पर्शी चित्रण टिजरमा छ ।

एक मिनेटभन्दा लामो टिजरले एउटा सुन्दर परिवारमा अचानक आउने संकटको कथा प्रस्तुत गरेको छ । घटनाको वास्तविक कारण नखुलाइए पनि टिजरले कुनै अप्रत्याशित परिस्थितिले एउटा परिवार कसरी तहसनहस हुन्छ भन्ने देखाउने प्रयास गरेको छ । समग्रमा टिजरले पारिवारिक कथावस्तुको झलक दिएको छ ।

संगीतकार हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, शवि थापा, अनिल बुढाथोकी, माओत्से गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई वसन्त लम्सालले निर्माण गरेका हुन् । गायक समेत रहेका लम्सालले यसअघि फिल्म ‘कर्मा’ निर्माण गरेका थिए ।

शिवराम श्रेष्ठको छायाकंन रहेको फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कम्पनी कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ । नेपाली समाजमा सन्तानको भविष्यका लागि बुबाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीलाई फिल्ममा मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको जनाइएको छ ।