, Divya Rayamajhi.jpg)
तीजको छेको पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच दर्शकमाझ ल्याइएको यस गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर सुन्न सकिन्छ ।
सियोन श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू पारस बम ठकुरी (कुल ब्वाय), दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । केही दृश्यमा पारस र दिव्या बेहुला–बेहुलीको भेषमा समेत देखिएका छन् । यसले फिल्मको कथा उनीहरूको विवाहमा केन्द्रित रहेको स्पष्ट संकेत दिन्छ ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा संगीतकार अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रताप शमशेर राणा निर्माता, शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्मातामा रहेका छन् । फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने विकास दाहालको सम्पादन रहेको छ ।

