अभिनेता नीर शाहको निर्देशकीय कमब्याक फिल्म ‘कमला मिस’को पहिलो गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक गरिएको छ । युग भुसालको शब्द तथा संगीत रहेको गीतमा रुबाई र सरोदी कुमारको स्वर सुन्न सकिन्छ । गीतले प्रेम र समर्पणको भाव अभिव्यक्त गरेको छ । एकअर्काप्रति आकर्षित हुँदै गएका दुई पात्रको मनोभावलाई गीतमार्फत प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा मुख्य कलाकारहरू वासना तिमिल्सिना र आरभ दाहाल देखिएका छन् । वासना शिक्षिकाको भूमिकामा छिन् । होस्टेल बसेर अध्ययन गर्ने आरभप्रति उनको लगाव र प्रेमलाई भिडियोमा मर्मस्पर्शी ढंगले देखाइएको छ । बुबा–आमाको मायाबाट वञ्चित बालकलाई शिक्षिकाले गर्ने अभिभावकीय व्यवहारलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको गीतले स्पष्ट संकेत गर्छ ।
नाटककार तथा कवि विजय मल्लको चर्चित नाट्य कृति ‘कोही किन बर्बाद होस्’बाट प्रेरित भएर निर्माण भएको यस फिल्ममा वासना र आरभसहित नीर शाह, रमेश बुढाथोकी, शिवम सराफ क्षेत्री, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, सञ्जय खतिवडा, भोला सुवेदी (प्रणव) लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको फिल्ममा उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्मातामा छन् । फिल्मको कथा साहित्यकार विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले तयार पारेका हुन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन रहेको छ । साउन २२ गतेबाट फिल्म प्रदर्शनमा आउनेछ ।

