
अभिनेत्री गौमाया गुरुङ विवाह बन्धनमा बाँधिएकी छन् । उनले केही दिनअघि बेलायतमा प्रेमी दिवससँग विवाह गरेकी हुन् । गुरुङ संस्कार अनुसार भएको विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियो । गौमायाले मंगलबार सामाजिक सञ्जालमा विवाहका तस्वीरहरू सार्वजनिक गरेकी छन् ।
आफू विवाह बन्धनमा बाँधिएको जानकारी दिँदै उनले भनेकी छन्, ‘परिवार र आफ्ना प्रियजनहरूको उपस्थितिमा मैले मेरो जीवनसाथी दिवससँग विवाह गरेँ ।’ उनको उक्त पोस्टमा स्वस्तिमा खड्का, श्वेता खड्का, मिरुना मगर, नाजिर हुसेन, निकिता चाण्डक, उपासना सिंह ठकुरी, मलिका महत, सोनम तोप्देनलगायतका कलाकारहरूले कमेन्ट गर्दै बधाई दिएका छन् ।
अभिनयमा अब्बल मानिएकी गौमायाले बहुचर्चित ब्रिटिश-अमेरिकी टेलिभिजन मिनिसिरिज ‘ब्ल्याक नार्सिसस’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । ‘कबड्डी ४’बाट दर्शकको ठूलो वर्गमा चिनिएकी उनले ‘१९१५ : लेजेन्ड अफ द गोर्खाज’, ‘फूलबारी’, ‘महाजात्रा’, ‘पूजा, सर’, ‘सेप अफ मोमो’, ‘रमिताको पिरती’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् ।

