
संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन बिनाको धन २’मा कलाकारहरू भित्रिने क्रम अझै जारी छ । सरोज खनाल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, प्रकाश घिमिरे र किरण केसी अनुबन्धित भइसकेको फिल्ममा अब अभिनेत्री गौरी मल्लको प्रवेश भएको छ । उनीसँग आइतबार निर्माण पक्षले लिखित सम्झौता गरेको हो ।
फिल्ममा गौरीको भूमिका र जोडीबारे कुनै जानकारी गराइएको छैन । तर, फिल्म निकट स्रोतका अनुसार उनी सरोज खनालको जोडी भएर देखिनेछिन् । यसअघि उनीहरूले ‘महामाया’, ‘चोट’, ‘तपस्या’, ‘सम्हालिन्छ कहिले मन’ र ‘सुब्बा साब’ जस्ता फिल्ममा एकसाथ काम गरिसकेका छन् । उनीहरू चार वर्षपछि फेरि एउटै फिल्ममा देखिन लागेका हुन् ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा टंक स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन् । फिल्मका गीतमा टंक स्वयंको संगीत रहनेछ । आगामी भदौ पहिलो साताबाट छायांकन सुरु गर्न लागिएको फिल्ममा विष्णु माया मैनाली निर्माताको रूपमा छिन् । फिल्मको छायांकन काठमाडौं उपत्यका र मुस्ताङमा गरिनेछ ।
‘मन बिनाको धन’ संगीतकार बुढाथोकीको चर्चित गीतमध्ये एक हो । ७ वर्षअघि रिलिज भएको यस गीतलाई अहिलेसम्म युट्युबमा तीन करोडभन्दा बढी पटक हेरिसकिएको छ । यो बाल गायक अशोक दर्जीको पहिलो गीत समेत हो । यही नामको फिल्ममा पनि अशोक मुख्य भूमिकामा थिए । यसको दोस्रो भागमा भने उनको अभिनय रहने वा नरहनेबारे निर्माण पक्षले खुलाएको छैन ।

