.jpg)
नेपालमा दक्षिण भारतीय फिल्मको प्रभाव बढ्दो छ । ‘बाहुबली’, ‘केजीएफ’, ‘पुष्पा’ जस्ता फिल्मले नेपालमा गरेको व्यापार त्यसकै प्रमाण हो । यसैले कुनै बेला बलिउड फिल्मदेखि भाग्ने गरेका नेपाली निर्माताहरूमा पछिल्लो समय साउथ फिल्मको डर बढेको छ । यसको ताजा उदाहरण हो, ‘टक्सिक’ । यो फिल्मका कारण यतिबेला नेपाली फिल्मको भागाभाग भएको छ ।
‘केजीएफ’ स्टार यशको मुख्य भूमिका रहेको ‘टक्सिक’ १० भदौ (२६ अगस्ट)मा रिलिज हुँदैछ । यो फिल्मले प्रदर्शन मिति घोषणा गर्नुअघि नै ५ नेपाली फिल्मले जनै पूर्णिमालाई लक्षित गर्दै भदौ १२ गतेलाई प्रदर्शन मिति तय गरेका थिए । त्यसमा ‘पार्वती’, ‘मास्टर्नी’, ‘जदौ’, ‘बेहुली’ र ‘ग्रेट’ थिए । तर, अब यी ५ फिल्ममा ४ फिल्म लाखापाखा लागेका छन् ।
‘टक्सिक’को डरले सबैभन्दा पहिला ‘मास्टर्नी’ सर्यो । यो फिल्म एक साताअघि सर्दै भदौ ५ मा रिलिज हुँदैछ । त्यसपछि ‘बेहुली’ले भदौ २६ लाई नयाँ प्रदर्शन मिति घोषणा गर्यो । शुक्रबार ‘जदौ’ले पनि पहिलो गीत ‘जदौ हजुर...’ सार्वजनिक गर्दै असोज ९ गतेलाई प्रदर्शन मिति तय गरेको छ । अर्को फिल्म ‘ग्रेट’ पनि भदौ १२ मा नआउने निश्चित भइसकेको निकट स्रोतको दाबी छ ।
अब ‘टक्सिक’सँग नीता ढुंगानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’ मात्र भिड्ने भएको छ । नीताले निर्धारित मितिमै फिल्म प्रदर्शन हुने स्पष्ट पारिसकेकी छन् । उनलाई ‘टक्सिक’को डरभन्दा ज्यादा आफ्नो फिल्मप्रति विश्वास बढी देखिन्छ । यसैले अरु फिल्म लाखापाखा लागे पनि उनी भदौ १२ को मिति नछाड्ने निर्णयमा अडिग भएर बसेकी छन् ।
तर, ‘पार्वती’लाई ‘टक्सिक’सँगको प्रतिस्पर्धा सहज भने हुने छैन । किनकि, ‘टक्सिक’ नेपालमा ठूलो प्रतीक्षा गरिएको फिल्म हो । त्यसैले यसको ओपनिङ आक्रामक हुनेमा दुईमत छैन । फिल्मलाई प्रतिक्रिया पनि राम्रो मिलेको खण्डमा त्यसको प्रत्यक्ष असर दुई दिनपछि आउने ‘पार्वती’लाई पर्नेछ । यद्यपि, नेपालमा धेरैपटक विदेशी फिल्ममाथि नेपाली फिल्म हाबी भएका नजिर पनि छन् ।

