Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म ‘बम्पर चिठ्ठा’ बन्ने, अमेजन प्राइम भिडियोमा रिलिज हुने

फिल्मीखबर, काठमाडौं, 2026/07/19

bumper chittha

 

२०८१ सालमा प्रदर्शन भएको एक्सन फिल्म ‘आउट ल’को निर्माण समूहले नयाँ फिल्म घोषणा गरेको छ । यो समूहले आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच थिम पोस्टर सार्वजनिक गर्दै फिल्म ‘बम्पर चिठ्ठा’ निर्माण गर्ने जानकारी दिएको हो । फिल्मको निर्देशन बिक्की महर्जनले गर्नेछन् भने लगानी अमित अग्रहरी र निशा गुइदेको रहनेछ ।

सार्वजनिक थिम पोस्टरले नेपालको सांस्कृतिक सम्पदा र रहस्यमय वातावरणको झल्को दिएको छ । प्राचीन मन्दिरका दृश्यले कथाप्रति उत्सुकता जगाउने प्रयास गरेको छ । पोस्टरले फिल्मको कथावस्तुबारे धेरै कुरा नखुलाए पनि नेपाली संस्कृति र मानवीय सम्बन्धलाई रोचक शैलीमा प्रस्तुत गरिने संकेत भने स्पष्ट रूपमा दिएको छ ।

स्याडो पिक्चर्सको ब्यानरमा बन्न लागेको यो फिल्म नेपाली, हिन्दी, तेलुगु र फ्रेन्च (फ्रान्सेली) गरी चार भाषामा निर्माण हुनेछ । फिल्मलाई विश्वव्यापी रूपमा अमेजन प्राइम भिडियोमार्फत प्रदर्शन गरिने जनाइएको छ । फिल्मको कथा निर्देशक महर्जन स्वयंले लेखेका हुन् । कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी केही समयपछि गराइने निर्माण पक्षले जनाएको छ ।

यसैबीच, यही समूहको अघिल्लो फिल्म ‘आउट ल’ आगामी सेप्टेम्बर अर्थात् भदौमा अमेजन प्राइम भिडियोमार्फत विश्वव्यापी रिलिज हुने तय भएको छ । यसमार्फत २४० भन्दा बढी देशमा रहेका दर्शकमाझ फिल्म पुग्ने विश्वास निर्माण टिमको छ । यो फिल्म अमेजनमा रिलिज भएपछि ‘बम्पर चिठ्ठा’को छायांकन सुरु गरिने निर्माता अग्रहरीले जानकारी दिए ।