Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकले रुचाए ‘गौँथली’, शो बढेको वितरकको दाबी

फिल्मीखबर, काठमाडौं, 2026/07/19

gauthali

 

गत शुक्रबार (१ साउन)बाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्म प्रदर्शन भएदेखि काठमाडौंका विभिन्न हलमा पुगेका निर्माता, निर्देशक तथा कलाकारहरूलाई दर्शकले मनछुने फिल्म हेर्न पाएको भन्दै धन्यवाद दिएका छन् । दर्शकहरूले फिल्मको विषयवस्तुदेखि कलाकारहरूको अभिनयसम्मको मुक्तकण्ठले प्रशंसा गरेका छन् । 

फिल्म हेर्दा महिला दर्शकहरू हलभित्रै रोएका भिडियोहरू पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् । प्रायः महिलाले आफ्नै कथा पर्दामा आएको प्रतिक्रिया दिएका छन् । कतिपयले यति राम्रो नेपाली फिल्म अहिलेसम्म नबनेको जिकिर गरेका छन् । सासु–बुहारीबीच कस्तो सम्बन्ध हुनुपर्छ भन्ने सन्देश पनि फिल्मले दिएको दर्शकहरूको प्रतिक्रिया छ ।

शुक्रबार र शनिबार देशभरका हलमा फिल्म हेर्ने दर्शकको उपस्थिति पनि सुखद देखिएको थियो । शुक्रबार देशव्यापी २५-३० प्रतिशत अकुपेन्सी हासिल गरेको फिल्मले शनिबार लगभग ५० प्रतिशत शोमा ७० प्रतिशत अकुपेन्सी कटाएको थियो । विशेषगरी काठमाडौं, नेपालगन्ज, दाङ, पोखरा, बुटवल, चितवन र बिर्तामोडजस्ता सहरमा फिल्मको अकुपेन्सी राम्रो देखिएको थियो ।

फिल्मले दुई दिन सुखद व्यापार गरेपछि देशभरका हलहरूमा शो वृद्धि भएको वितरक करण श्रेष्ठले जानकारी दिए । उनले भने, ‘दुई दिन फिल्मले देशभर राम्रो प्रदर्शन गर्‍यो । दर्शकबाट प्रतिक्रिया पनि एकदमै राम्रो मिलेको छ । यसैले शनिबारबाटै देशभरका हलमा फिल्मका शोहरू बढेका छन् । अब फिल्म लामो जानेमा हामी विश्वस्त छौँ ।’

डा. कपिल रिजालको निर्देशनमा बनेको यस फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, सीतादेवी तिमिल्सिना, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले बाल विवाहलाई केन्द्रमा राखेर श्रीमान्-श्रीमतीको सम्बन्धको कथा प्रस्तुत गरेको छ ।