Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीर शाहले ‘प्रिन्स’ निर्देशन गर्ने

फिल्मीखबर, काठमाडौं, 2026/07/18

nir shah

 

नेपाली फिल्मका ‘भीष्म पितामह’को रूपमा चिनिने नीर शाहले १० वर्षपछि निर्देशनमा पुनरागमन गरेको फिल्म ‘कमला मिस’ साउन २२ गते प्रदर्शन हुँदैछ । तर, यो फिल्म रिलिज नहुँदै उनी नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रिन्स’को शुक्रबार पहिलो गीत रेकर्ड गर्दै फिल्मको निर्माण प्रक्रिया सुरु गरिएको छ । 

रेड चिल्ली फिन टेकको ब्यानरमा निर्माण हुन लागेको फिल्मको पहिलो गीतमा नीर शाहको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा शिव परियारको स्वर रहेको छ । फिल्मको कथा नीर शाह आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन् । फिल्मको छायांकन सौरभ लामाले गर्नेछन् । 

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा (प्रेम बम्जन) लाइन प्रोड्युसर रहेको फिल्मको छायांकन भदौमा गरिने जनाइएको छ । कलाकार र प्राविधिक टोलीको नाम केही दिनमा सार्वजनिक गरिने निर्देशक शाहले बताए । उनका अनुसार अहिले बनिरहेका फिल्मभन्दा ‘प्रिन्स’ फरक स्वादको हुनेछ । कथावस्तुले दर्शकलाई नयाँ अनुभव दिने उनको विश्वास छ ।

यस वर्ष ‘परान’बाट करिअरमै पहिलो पटक उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जितेका शाहले सन् २०१५ मा ‘सेतो बाघ’ बनाएपछि १० वर्ष फिल्म निर्देशन गरेका थिएनन् । अब भने उनी निर्देशनलाई निरन्तरता दिने योजनामा देखिन्छन् । उनले निर्देशन गरेका ‘बासुदेव’, ‘पच्चिस वसन्त’, ‘वसन्ती’, ‘मसान’ जस्ता फिल्म कालजयी मानिन्छन् ।