
कन्नड फिल्म ‘टक्सिक’ भदौ १० मा आउने भएपछि नेपाली फिल्मको रिलिज क्यालेन्डर प्रभावित भएको छ । यसअघि भदौ १२ गते ५ वटा फिल्म प्रदर्शन हुने तयारीमा थिए । तर, ‘टक्सिक’ २ दिनअघि नै आउने भएपछि ‘पार्वती’बाहेक अरु सबै फिल्मले प्रदर्शन मिति सारेका छन् । भदौ १२ गते प्रदर्शन हुने भनिएको फिल्म ‘जदौ’ पनि एक महिना पछाडि सरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको पहिलो गीत ‘जदौ हजुर...’ सार्वजनिक गर्दै असोज ९ गते (इन्द्रजात्रा)लाई नयाँ प्रदर्शन मिति तय गरिएको हो । यो मितिमा ‘आचार्य’, ‘हन्टर’ र ‘कुस्ती’ पनि प्रदर्शन हुने तयारीमा छन् । अब ‘जदौ’ पनि थपिँदा असोज ९ मा चार फिल्म पुगेका छन् । यही मितिमा बलिउड फिल्म ‘द विवान’ पनि प्रदर्शन हुँदैछ ।
‘जदौ’को गीतमा धनराज बहादुर गिरी (बाबुल)को शब्द तथा संगीत छ भने राजनराज सिवाकोटी र रचना रिमालको स्वर रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नीति शाह, प्रभात पाल ठकुरी, राजश्री थापा र खड्ग बहादुर पुन (खबपु)ले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।
अन्जन शर्मा र काजी लिम्बूको निर्देशनमा बनेको यस फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रतात पाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताललगायतका कलाकारहरूले अभिनय गरेका छन् । श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको फिल्मका निर्माता सृजना शर्मा र मनिष शर्मा हुन् ।

