Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा रुचाइयो ‘गौँथली’, अरुण र सिम्रनको अभिनयको प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2026/07/14

madankrishna shrestha

 

यही शुक्रबार (१ साउन)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’को सोमबार साँझ काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा प्रिमियर शो सम्पन्न भयो । ७ सयभन्दा बढीको उपस्थिति रहेको प्रिमियरमा फिल्मले लोभलाग्दो प्रतिक्रिया पाएको छ । फिल्म हेरेपछि विशेषगरी महिला दर्शकहरू गहभरि आँसु लिएर हलबाट निस्किएका थिए । 

चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म हेर्दा आँसु आएको बताए । उनले भने, ‘फिल्ममा हुनुपर्ने सबै गुण छ यसमा । परर्फेक्ट छ फिल्म । धेरै दृश्यले मेरो मन छोयो । हेर्दा आँसु नै आयो । कलाकारहरूको काम पनि एकदमै राम्रो छ । अरुण र सिम्रनले यति राम्रो काम गरेका छन् कि अब उनीहरूलाई फुर्सद नै हुँदैन । क्यामेरा वर्कदेखि लाइटिङ पनि साह्रै राम्रो छ ।’ 

अर्का कलाकार प्रकाश घिमिरेले पनि फिल्मको प्रशंसा गरे । ‘गौँथली’का कलाकार समेत रहेका उनले भने, ‘आम दर्शक भएर हेर्दा फिल्ममा मलाई मदेखि नै रिस उठ्यो । फिल्ममा अरुणले निभाएको पात्रजस्तै छ मेरो छोरा पनि । त्यो हिसाबले फिल्मले मलाई अझ छोयो । यति राम्रो फिल्म सायद दर्शकले पनि मन पराउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’

सञ्चारकर्मी प्रकाश सुवेदी (रजतपट अंकल)ले ‘गौँथली’लाई पूर्ण फिल्मको संज्ञा दिए । उनले भने, ‘केस्रा-केस्रा केलाउने हो भने धेरै कमजोरी भेटिन सक्छन् । तथापि, यो पूर्ण फिल्म किन भन्दैछु भने यसमा प्रेम छ, हास्य छ, खुसी छ, रोदन छ । साह्रै राम्रो लाग्यो मलाई फिल्म । कति दृश्य त मैले हेर्न नसकेर अनुहार छोपेको थिएँ । फिल्ममा मनोरञ्जनसँगै गहिरो सन्देश पनि छ ।’

 

gauthali movie


प्रिमियरमा अभिनेता तथा निर्देशक आकाश अधिकारी, अभिनेत्री न्यान्सी खड्का, निर्देशक मिलन चाम्स, निर्माता रोहित अधिकारी, गायिका शान्तिश्री परियार, अभिनेताहरू जितु नेपाल, गजित विष्ट, गौरव पहारीलगायतको पनि उपस्थिति रहेको थियो । उनीहरूले फिल्मको कथावस्तुदेखि कलाकारहरूको अभिनयसम्मको प्रशंसा गर्दै दर्शकलाई हेर्न आग्रह गरे ।

डा. कपिल रिजालको निर्देशनमा बनेको यस फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्मले बाल विवाहको विषयलाई उठाउँदै श्रीमान्-श्रीमतीबीचको सम्बन्धको कथा पेस गरेको छ ।