.jpg)
फिल्म निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको ‘ब्रेन ट्युमर’को शल्यक्रिया गरिएको छ । मंगलबार काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो । शल्यक्रिया सफल भएको कलाकार दीपकराज गिरीले जानकारी दिएका छन् ।
दीपकराजका अनुसार फिल्म ‘छ माया छपक्कै २’को छायांकनको क्रममा दीपाश्रीलाई ‘ब्रेन ट्युमर’ भएको पत्ता लागेको थियो । धेरै ठाउँबाट भारत जान सल्लाह पाएको भए पनि डा. वसन्त पन्तबाट शल्यक्रिया गर्ने निर्णय गरेको उनले बताएका छन् । शल्यक्रिया सफल भएपछि दीपाश्रीलाई आइसियूबाट अहिले जनरल वार्डमा सारिएको उनले जानकारी दिए ।
दीपाश्रीको मस्तिष्कबाट निकालिएको ट्युमर कस्तो प्रकृतिको हो (क्यान्सरयुक्त हो वा होइन) भन्ने पत्ता लगाउन त्यसको नमुना परीक्षणका लागि प्रयोगशाला (बायोप्सी)मा पठाइएको अस्पताल स्रोतले जनाएको छ । बायोप्सीको रिपोर्ट भने आएको छैन । अस्पतालका अनुसार हाल दीपाश्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनी अझै केही साता अस्पतालमै बस्नेछिन् ।
दुई दशकभन्दा लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय दीपाश्रीले तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । उनी निर्देशनमा पनि उत्तिकै सफल छिन् । उनले निर्देशन गरेका ‘छक्का पञ्जा’का सबै श्रृंखला व्यावसायिक रुपमा सफल छन् । उनी चाँडै ‘छक्का पञ्जा ६’ निर्देशनको तयारीमा छिन् । उनी अभिनीत नयाँ फिल्म ‘पार्वती’ भदौ १२ गते प्रदर्शन हुँदैछ ।

