
एक समय थियो, जब गोविन्दाले बलिउडमा एकछत्र राज गर्थे । आफ्नो समयमा उनका प्रायः सबै फिल्महरू हलमा हप्तौँदेखि महिनौँसम्म चल्थे । तर, आज उनै सुपरस्टार गोविन्दा लामो समयदेखि ठूलो पर्दाबाट टाढा छन् । करिब ७ वर्षयता उनी कुनै नयाँ फिल्ममा देखिएका छैनन् । अब भने उनकी श्रीमती सुनिता आहूजाले बलिउडमा डेब्यू गर्ने भएकी छन् ।
हालै एएनआईसँगको कुराकानीमा सुनिताले आफ्नो डेब्यू फिल्म यही वर्षको सेप्टेम्बरमा प्रदर्शनमा आउने जानकारी दिइन् । उनले फिल्ममा आफ्नै छोरा यशवर्धनको आमाको भूमिकामा अभिनय गरेको पनि खुलासा गरिन् । उनका छोरा यशवर्धनको पनि यो पहिलो फिल्म हो । अर्थात् एउटै फिल्मबाट आमा र छोराले एकसाथ डेब्यू गर्दैछन् । बलिउडमा यो पहिलो पटक हुन लागेको हो ।
सुनिताले अन्तर्वार्तामा भनेकी छन्, ‘म छोरा यशसँग फिल्म गर्दैछु । फिल्म सेप्टेम्बरमा रिलिज हुनेछ । फिल्मलाई एकता कपूरले बनाइरहेकी छन् । उनले मलाई धेरै माया गर्छिन् । उनकै कारण मैले नेटफ्लिक्सको एउटा शो गरेकी थिएँ । फिल्ममा म यशकै आमाको भूमिकामा देखिँदैछु । सायद पहिलो पटक आमा र छोरा एउटै फिल्ममार्फत सँगै डेब्यू गर्न लागेका हुन् ।’
गोविन्दा र सुनिताका एक छोरा र एक छोरी छन् । छोरीको नाम टीना आहूजा हो । उनी पनि फिल्ममा आइसकेकी छन् । तर, उनलाई पिताजस्तो सफलता भने मिल्न सकेन । उनले सन् २०१५ मा प्रदर्शन भएको फिल्म ‘सेकेन्ड ह्यान्ड हजब्यान्ड’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यो फिल्म असफल भएपछि उनी गुमनामझैँ छिन् । उनले दोस्रो फिल्म समेत पाएकी छैनन् ।

