Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाल कलाकार खोज्न सर्वनाम थिएटरले अभिनय प्रतियोगिता गर्दै

फिल्मीखबर, काठमाडौं, 2026/07/10

sarwanam

 

नेपालको पुरानो नाट्य समूह सर्वनाम थिएटरले बालबालिकामा रहेको अभिनय प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रव्यापी बाल अभिनय प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘म पनि एक्टर’ नाम दिइएको प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले सहभागिता जनाउन सक्नेछन् । 

देशभरबाट प्राप्त आवेदनमध्ये उत्कृष्ट ३० जना प्रतियोगी छनोट गरी उनीहरूलाई सर्वनाम थिएटरमा प्रत्यक्ष अभिनय प्रस्तुत गर्ने अवसर दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट पाँच जनालाई निःशुल्क तीन महिनाको अभिनय प्रशिक्षण प्रदान गरिनेछ ।

आयोजकका अनुसार प्रतियोगिताले देशभर रहेका बालबालिकाको अभिनय क्षमता उजागर गर्नुका साथै भविष्यका कलाकारलाई व्यावसायिक रंगमञ्चसँग जोड्ने अपेक्षा गरिएको छ । विद्यालय, अभिभावक तथा स्थानीय समुदायको सक्रिय सहभागिताले प्रतियोगितालाई अझ प्रभावकारी बनाउने विश्वास पनि संस्थाले व्यक्त गरेको छ ।

वि.सं. २०३९ मा स्थापना भएको सर्वनाम थिएटर नेपाली रंगमञ्चको अग्रणी संस्थाका रूपमा परिचित छ । चार दशकभन्दा बढी समयदेखि संस्थाले सामाजिक, सांस्कृतिक तथा समसामयिक विषयवस्तुमा आधारित नाटक मञ्चन, अभिनय प्रशिक्षण तथा नयाँ पुस्ताका कलाकार उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सर्वनाम थिएटर काठमाडौंको कालिकास्थानमा छ ।