
बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको उपचारको क्रममा निधन भएको छ । शरीरको करिब ५५ प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो । उनको निधनपछि सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भइरहेको छ ।
फिल्म निर्माता तथा कलाकार दीपकराज गिरीले पनि फेसबुकमा एक पोस्ट लेख्दै सरकारको आलोचना गरेका छन् । उनले गणेश नेपालीको मृत्युको दोषी सरकार रहेको आशय व्यक्त गर्दै लेखेका छन्, ‘अपार जनसमर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ ।’ गणेश नेपालीको मृत्यु सरकारको निर्मम नीति–नियमकै कारण भएको उनको आशय देखिन्छ ।
अर्का कलाकार सीताराम कट्टेल धुर्मुसले पनि फेसबुकमा स्टाटस लेख्दै गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली । लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बीच बाँचिरहेको म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु । राज्य सबै नागरिकको साँचो अभिभावक बनोस् ।’
उनले देशमा सम्मानपूर्वक श्रम गरेर बाँच्न सकिने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । उनी अगाडि लेख्छन्, ‘फेरि कुनै नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह रोज्नुपर्ने अवस्था नआओस् ।’ उनको उक्त पोस्टको कमेन्टमा धेरैले सरकारको आलोचना गरेका छन् भने केहीले गणेशलाई प्रयोग गरेर आफ्नै स्वार्थमा लिप्त नहुन उनलाई आग्रह गरेका छन् ।
गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागको भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । आगोले उनको अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुर्याएको थियो । अस्पताल ल्याइएलगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

