स्त्रीरोग विशेषज्ञ तथा निर्माता डा. भोला रिजालका छोरा डा. कपिल रिजालले निर्देशन गरेको फिल्म ‘गौँथली’को ट्रेलरले दर्शकलाई आकर्षित गर्न सफल देखिएको छ । ५ दिनअघि युट्युबमा रिलिज भएको ट्रेलरले ७ लाखभन्दा बढी भ्यूजसहित मुभी सेक्सनतर्फ ट्रेनिङको दोस्रो स्थान समेत कब्जा गरेको छ । ट्रेलरलाई सामाजिक सञ्जालमा प्रतिक्रिया पनि लोभलाग्दो मिलेको छ ।
युट्युबमा ट्रेलर हेरेपछि दर्शकहरूले उत्साह व्यक्त गरेका छन् । कतिले ‘पूर्णबहादुरको सारङ्गी’को रेकर्ड तोड्ने दाबी गरेका छन् भने कतिले पहिलो पटक नेपाली फिल्मको ट्रेलर मन परेको बताएका छन् । फिल्मले समाजमा सकारात्मक सन्देश दिने विश्वास पनि दर्शकहरूले व्यक्त गरेका छन् । ट्रेलरलाई प्राप्त प्रतिक्रिया हेर्दा फिल्मप्रति दर्शकको चासो उल्लेख्य रूपमा बढेको देखिन्छ ।
‘गौँथली’ दुई दशकअघि यही नाममा बनेको गीति फिल्मको पात्रहरूबाट प्रेरित कथा हो । यसबारे निर्देशक रिजाल भन्छन्, ‘त्यो फिल्मका पात्रलाई उठाएर हामीले अहिलेको समय, प्रविधि र परिवेशअनुसार फिल्म बनाउने प्रयास गरेका छौं । यसमा पढ्ने इच्छा हुँदाहुँदै परिवारको दबाबमा विवाह भएपछि गौँथली पात्रको जीवनमा आउने उतारचढावलाई देखाएका छौं ।’
आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा सिम्रन खड्का, अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, सीतादेवी तिमिल्सिना, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । बाल कलाकारमा अंशु ओली र प्रिन्स नेपाली रहेका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् । सरला रिजाल कार्यकारी निर्माताको रूपमा छिन् । फिल्ममा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा कपिल रिजाल, निश्चल कुँवर, अभिमन्यू निरवी, शिव शर्मा, निरज नेपाल र गिरिराज घिमिरेको पटकथा तथा संवाद लेखन रहेको छ ।

