.jpg)
अभिनेत्री नम्रता श्रेष्ठको जन्मदिन जुन १४ (३१ जेठ)मा पर्छ । अर्थात् यस वर्ष उनको जन्मदिन गइसकेको छ । तर, उनले बुधबार मात्र आफ्नो जन्मदिन मनाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । भिडियो ढिलो पोस्ट गर्नुको कारण भने उनी २८ दिनदेखि पञ्चकर्म (आयुर्वेदको विशिष्ट चिकित्सा पद्धति)मा थिइन् । त्यो अवधिभर उनले मोबाइल चलाएकी थिइनन् ।
३१ जेठबाट ४० वर्षमा लागेकी उनले पञ्चकर्मकै क्रममा त्यहाँका कर्मचारीसँग जन्मदिन मनाएको भिडियो सेअर गर्दै आफ्नो लागि जुन महिना शान्त रूपमा बितेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘जुन महिना मेरो थियो । पूर्ण रूपमा शान्तसँग मेरो । २८ दिनको पञ्चकर्म । न फोन, न कोलाहल, न कुनै योजना । केवल वर्तमानमा बाँच्ने अनुभव ।’
उनी अगाडि लेख्छिन्, ‘डाक्टर, थेरापिस्ट र निको पार्ने व्यक्तिहरूका बीचमा मेरो ४०औँ जन्मदिन बित्यो । उनीहरूले घरमै बनाएको केक र मेरा आफ्नै फिल्मका गीतहरू गाएर मलाई जन्मदिनको सुन्दर सरप्राइज दिए । केही जन्मदिन हामी आफैं योजना बनाएर मनाउँछौँ । कतिपय जन्मदिन भने जीवनले ठीक त्यही ठाउँमा पुर्याएर मनाइदिन्छ, जहाँ हामीलाई पुग्न आवश्यक हुन्छ ।’
उनले पहिलेभन्दा आफू धेरै शान्त, सन्तुलित र सचेत भएर घर फर्किएको उल्लेख गरेकी छन् । ‘तपाईं जे खानुहुन्छ, तपाईं त्यसैबाट बन्नुहुन्छ । तपाईं जे बोकेर हिँड्नुहुन्छ, त्यसले पनि तपाईंलाई बनाउँछ । र, तीमध्ये केही भार बिसाउने निर्णय गर्ने अधिकार पनि तपाईंमै हुन्छ,’ उनी लेख्छिन्, ‘अब म फर्किएको छु— पहिलेभन्दा अझ भरिपूर्ण भएर ।’
अभिनयमा आफूलाई अब्बल सावित गरेकी नम्रता फिल्ममा नदेखिएको करिब ७ वर्ष भइसकेको छ । उनको पछिल्लो रिलिज फिल्म ‘जाइरा’ थियो । २०८० सालमा भएको एक घटनापछि उनी फिल्म अभिनयबाट टाढिएकी हुन् । निकट स्रोतका अनुसार उनी यस वर्ष भने नयाँ फिल्ममा काम गर्ने योजनामा छिन् । त्यसका लागि उनले एक फिल्म सम्झौता गरिसकेको बताइएको छ ।

