
कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाः एक योद्धा’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमार्फत पात्रहरूको मनोभाव दर्शाउन खोजिएको छ । एउटा पोस्टरमा खुसी झल्किएको छ भने अर्कोमा पात्रहरू गहिरो पीडामा देखिएका छन् । यसले फिल्मको कथा पारिवारिक संवेदनामा आधारित रहेको संकेत गर्छ ।
पहिलो पोस्टरमा दिव्यदेव, झरना थापा, सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मा घरको आँगनमा तस्वीर खिचाइरहेका देखिन्छन् । उनीहरूको अनुहारमा खुसीको भाव झल्किएको छ । दोस्रो पोस्टरमा भने पात्रहरू पीडा र तनावमा देखिएका छन् । यसले एउटा खुसी परिवारको जीवनमा आउने अनेक उतारचढाव र संघर्षलाई दर्शाएको छ ।
संगीतकार हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा शिशिर सिवाकोटी, शवि थापा, अनिल बुढाथोकी, माओत्से गुरुङलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् । गायक समेत रहेका लम्सालले यसअघि एक्सन फिल्म ‘कर्मा’ निर्माण गरेका थिए ।
शिवराम श्रेष्ठको छायाकंन रहेको फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कम्पनी कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ । नेपाली समाजमा सन्तानको भविष्यका लागि बुबाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीलाई फिल्ममा मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको जनाइएको छ ।

