.jpg)
‘मिस्टर परफेक्सनिस्ट’को रूपमा परिचित बलिउड अभिनेता आमिर खान तेस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । उनले आइतबार दिउँसो १२ः४५ बजे मुम्बईको बान्द्रास्थित आफ्नो निवासमा प्रेमिका गौरी स्प्राटसँग कानुनी रूपमा विवाह गरेका हुन् । उनीहरूको विवाहमा परिवारका सीमित सदस्य र नजिकका साथीभाइको मात्र उपस्थिति रहेको थियो ।
यसैबीच, आमिर र गौरीको विवाहको पहिलो तस्वीर सार्वजनिक भएको छ, जसमा उनीहरू भुइँमा बसेर टेबलमा विवाहसम्बन्धी कागजातमा हस्ताक्षर गरिरहेका देखिन्छन् । गौरीको हातमा औँठी राखिएको बक्स पनि देखिन्छ । आमिरका छोरा आजाद एकातिर बसेका छन् भने गौरीका छोरा पनि तस्वीरमा देखिएका छन् । साथै, आमिरकी आमा पनि विवाहमा उपस्थित भएकी थिइन् ।
आमिरले सन् २०२५ को मार्च १४ मा आफ्नो ६०औँ जन्मदिनको अवसरमा आयोजित एक कार्यक्रममा पहिलो पटक गौरीलाई सञ्चारमाध्यमसँग परिचय गराएका थिए । त्यसक्रममा उनले आफू र गौरीको पहिलो भेट करिब २५ वर्षअघि भएको र पछि आफ्नी काकाकी छोरी नुजहत खानमार्फत फेरि सम्पर्कमा आएको खुलासा गरेका थिए ।
उनले भनेका थिए, ‘म सधैं राम्रो सम्बन्धमा रहन पाएकोमा आफूलाई भाग्यमानी ठान्छु । रिना र मैले १६ वर्ष सँगै बितायौं । त्यसपछि किरण र मैले पनि १६ वर्ष सँगै बितायौं, र धेरै हिसाबले हामी अहिले पनि एकअर्कासँग जोडिएका छौं । ती सम्बन्धबाट मैले धेरै कुरा सिकेको छु । गौरीसँग भने म आफूलाई निकै स्थिर र सन्तुष्ट महसुस गर्छु ।’
आमिरले पहिलो विवाह सन् १९८६ मा रीना दत्तासँग गरेका थिए । उनीहरूका दुई सन्तान छन्, जुनैद र आइरा । तर, १६ वर्षपछि उनीहरूको वैवाहिक सम्बन्ध अन्त्य भयो । त्यसपछि आमिरले किरण रावसँग सन् २००५ मा विवाह गरे । उनीहरूका एक छोरा आजाद छन् । यो विवाह पनि करिब १६ वर्ष टिक्यो । डिभोर्सपछि पनि आमिरको दुवै पूर्वपत्नीसँग निकै राम्रो सम्बन्ध छ ।
को हुन् गौरी ?
बेंगलुरुकी गौरी हाल आमिर खान प्रोडक्सन्ससँग आबद्ध छिन् । फिल्म निर्माणमा प्रवेश गर्नुअघि उनी बेंगलुरुस्थित एक चर्चित सैलुन चेनमा कार्यरत थिइन् । पछि उनले आफ्नो करिअरलाई फिल्म निर्माणतर्फ मोडिन् । उनले सन् २००४ मा यूनिभर्सिटी अफ आर्ट्स, लण्डनबाट फेसन, स्टाइलिङ र फोटोग्राफीमा डिग्री समेत हासिल गरेकी छन् । आमिरसँगको उनको दोस्रो विवाह हो ।

