
बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको पहिलो सय दिन शनिबार पूरा भयो । त्यस अवसरमा शनिबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराए । त्यसमा फिल्म क्षेत्रसँग सम्बन्धित दुई विषय पनि समेटिएका छन् ।
सञ्चार मन्त्रालय अन्तर्गत सरकारले हात्तिसारस्थित जय नेपाल हललाई पुनः सञ्चालनका लागि इजाजतपत्र दिनुलाई सय दिनको उपलब्धिको सूचीमा राखेको छ । सरकारको प्रगति विवरणमा भनिएको छ, ‘लामो समयदेखि बन्द अवस्थामा रहेको काठमाडौंको हात्तिसारस्थित जय नेपाल चलचित्रघरको पुनः सञ्चालनका लागि चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्र प्रदान भएको ।’
विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फको ‘जुरी प्राइज’ पुरस्कार प्राप्त गरेको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)लाई चलचित्र विकास बोर्डमार्फत विशेष समारोह आयोजना गरी २ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको विषयलाई पनि सरकारले आफ्नो सय दिनको उपलब्धिमा राखेको छ ।

तर, सरकारले उपलब्धि मानेका जय नेपाललाई पुनः सञ्चालनका लागि इजाजतपत्र प्रदान गर्नु र ‘एलिफेन्ट्स इन द फग’लाई सम्मान गर्नु वास्तवमा नियमित प्रशासनिक प्रक्रियाका हिस्सा हुन् । यस्ता विषयलाई समेत उपलब्धिका रूपमा प्रस्तुत गरिनुले सरकारले फिल्म क्षेत्रका वास्तविक समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्न नसकेको फिल्मकर्मीहरूको टिप्पणी छ ।

