अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘काजी’ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्ममा काजी र कजिनीको मन छुने प्रेमकथा रहेको भन्दै दर्शकहरूले ‘उत्कृष्ट लभस्टोरी’को संज्ञा दिएका छन् । विपिन र केकीको अभिनयको पनि निकै प्रशंसा भइरहेको छ ।
शनिबार काठमाडौंका विभिन्न हलमा फिल्म हेरेका दर्शकहरूले सञ्चारकर्मीसँगको कुराकानीमा काजीले कजिनीलाई दिएको साथ र हौसला सबैभन्दा बढी मन परेको प्रतिक्रिया दिए । एक महिला दर्शकले त यो फिल्मबाट युवापुस्ताले किताब पढेभन्दा बढी ज्ञान लिन सक्ने धारणा व्यक्त गरिन् । ‘अर्गानिक कथा’ भन्दै सबैले हेर्नुपर्ने फिल्म बनेको प्रतिक्रिया पनि प्रायः दर्शकको थियो ।
फिल्मलाई दर्शकबाट प्राप्त प्रतिक्रियाले विपिन र केकी उत्साहित देखिएका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष शोमा केकीले फिल्ममा कजिनी पात्रको भूमिकामा अभिनय गर्न निकै चुनौती भएको स्मरण गरिन् । अहिले समयमा मुना र मदनको जस्तो प्रेम दुर्लभ भइसकेको अवस्थामा त्यो कुरालाई फिल्ममा आफ्नो पात्रमार्फत देखाउन सहज नभएको उनको भनाइ थियो ।
विपिनले पनि अहिलेको समयमा भगवान् राम र सीताको जस्तो प्रेम दर्शकले नै विश्वास नगर्ने भएकाले फिल्ममा अलि अगाडिको ‘टाइमफ्रेम’ राखिएको बताए । उनले भने, ‘यो युगमा फिल्ममा देखाइएजस्तो प्रेम पनि होला र भन्ने महसुस म आफैँलाई हुन्छ । यही कारण पनि हामीले दर्शकलाई विश्वास दिलाउन कथाको ‘टाइमफ्रेम’ अलि अगाडिको राखेका हौं ।’
लक्ष्मण रिजालको निर्देशनमा बनेको ‘काजी’मा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, अनुराग कुँवर, हिउँवाला गौतमलगायत कलाकारहरूको अभिनय रहेको छ । प्रदीप भारद्वाजको लेखनमा बनेको यस फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । फिल्मले एक दम्पतीको आदर्श प्रेमलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरेको छ ।

