Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकले रुचाए ‘मितज्यू’, टेरिया भन्छिन्, ‘डर हराउँदैछ’

फिल्मीखबर, काठमाडौं, 2026/05/24

Teriya Phounja Magar

 

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मितज्यू’ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकेको भए पनि दर्शकीय प्रतिक्रिया राम्रो पाएको छ । शुक्रबार र शनिबार काठमाडौंका विभिन्न हलमा भेटिएका प्रायः दर्शकले फिल्मको कथावस्तु र कलाकारहरूको अभिनयको प्रशंसा गरेका थिए । फिल्मले दिने सन्देश पनि राम्रो रहेको कतिपयको प्रतिक्रिया थियो । 

फिल्म प्रदर्शन भएसँगै अभिनेत्री टेरिया फौजा मगर काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकहरूको प्रतिक्रिया बुझिरहेकी छन् । उनी शनिबार दिउँसो ललितपुरको क्यूएफएक्स हलमा पुग्दा प्रायः दर्शकले उनको अभिनय र नृत्यको खुलेर प्रशंसा गरे । पहिलो फिल्म भए पनि उनको अभिनय नयाँ कलाकारजस्तो नदेखिएको धेरैको प्रतिक्रिया थियो । 

दर्शक प्रतिक्रियाले उत्साहित देखिएकी टेरिया विस्तारै आफ्नो डर हराउँदै गएको बताउँछिन् । उनी भन्छिन्, ‘फिल्म रिलिजअघि म निकै ‘नर्भस’ थिएँ । मेरो अभिनयलाई लिएर दर्शकबाट कस्तो प्रतिक्रिया आउला भनेर डराएकी थिएँ । अब चाहिँ त्यो डर विस्तारै हराएको छ । मलाई भेट्ने दर्शकहरूले ‘राम्रो अभिनय गर्ने रैछौ’ भन्नुभएको छ । मेरो लागि यो सबैभन्दा ठूलो खुसी हो ।’ 

फिल्म हेर्ने महिला दर्शकहरूले आफ्नो पात्रसँग ‘रिलेट’ गरेको समेत उनको भनाइ छ । ‘फिल्ममा मेरो पात्रमार्फत जसरी महिला सशक्तिकरणको विषय उठाइएको छ, त्यसमा महिलाहरूले आफूलाई ‘रिलेट’ गर्नुभएको छ । धेरैले फिल्म हेरेपछि ‘हामी पनि केही गर्न सक्छौं’ भन्ने महसुस भयो भनेर प्रतिक्रिया दिँदा ज्यादै खुसी लागेको छ । मैले सुन्न चाहेको पनि यही थियो,’ उनले भनिन् ।

फिल्मका मुख्य अभिनेता दयाहाङ राई पनि दर्शकीय प्रतिक्रियाले उत्साहित देखिएका छन् । शनिबार हल भ्रमणको क्रममा उनले भने, ‘फिल्ममा प्रयोग गरिएको ‘पोलिटिकल मेटाफोर’लाई प्रायः दर्शकले मन पराउनुभएको छ । जनयुद्धले कस्तोसम्म असर गरेको थियो भन्ने कुरा अहिलेको पुस्ताले बुझ्न पनि फिल्म हेर्नुपर्ने प्रतिक्रिया दर्शकले दिँदा आनन्द महसुस भएको छ ।’

मितेरी साइनो (मित लगाउने परम्परा)को कथामा बनेको ‘मितज्यू’मा दयाहाङ र टेरियासहित सौगात मल्ल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन, सविन कट्टेल, अनु थापालगायतका कलाकारहरूको अभिनय रहेको छ । अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्मका लगानीकर्ता जनक घर्ती मगर हुन् ।

Most Visited News (monthly)