यही शुक्रबार (१५ जेठ)बाट प्रदर्शन हुन लागेको फिल्म ‘रोल नं १’को नयाँ गीत ‘मेरो लागि तिमी’ सार्वजनिक गरिएको छ । चर्चित गीत ‘काँधेकुरी’का गायक प्रशान्त सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको यस गीतले सन्तानका लागि आमा-बुबाको साथ र महत्त्व दर्शाएको छ । आमा-बुबा ईश्वर र मन्दिर हुन् भन्ने सन्देश गीतमा समेटिएको छ ।
गीतको भिडियोमा फिल्मका तीन मुख्य कलाकारहरू मुकुन भुसाल, रेणु योगी र निर्भिक रेग्मीलाई केन्द्रमा राखिएको छ । मुकुन र रेणु श्रीमान्-श्रीमतीको भूमिकामा छन् । उनीहरूले जीविकोपार्जन र छोरा (निर्भिक)लाई पढाउन गरेको संघर्षलाई मर्मस्पर्शी रूपमा देखाइएको छ । आमाको निधनपछि सन्तानमा छाएको निराशालाई पनि भिडियोमा देखाउन खोजिएको छ ।
कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माता कम्पनी सेभेन सिज सिनेमाले निर्माण गरेको यस फिल्ममा मुकुन, रेणु र निर्भिकसहित सुशांक मैनाली, सिर्जना अधिकारी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् । उनले यसअघि फिल्म ‘आँखा’ निर्देशन गरेका थिए ।
विनोद पौडेल र जाह्नवी पौडेलको लगानीमा बनेको यस फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । फिल्ममा महेश दवाडीको लेखन, शिवराम श्रेष्ठको छायांकन, मदन घिमिरेको सम्पादन, रोहित शाक्यको पार्श्व संगीत तथा उत्तम प्रधानको साउन्ड डिजाइन रहेको छ । यतिबेला फिल्ममा समावेश ‘म्याग्दी रुमाले’ गीत चर्चामा छ ।

