Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो अवार्ड

फिल्मीखबर, काठमाडौं, 2026/05/23

nepali movie

 

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले ‘जुरी प्राइज’ अवार्ड जितेको छ । शनिबार बिहान फ्रान्समा आयोजित कान्सको समापन समारोहमा फिल्मले उक्त अवार्ड जितेको हो । अवार्ड ग्रहण गर्न फिल्मका लेखक तथा निर्देशक अविनाश विक्रम शाह नेपालको झण्डा ओढेर स्टेज उक्लिएका थिए ।

कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको यो फिल्म गत बिहीबार प्रिमियर भएको थियो । यस विधाको मुख्य अवार्ड ‘अन सर्टेन रिगार्ड प्राइज’ भने अस्ट्रियाकी चर्चित निर्देशक सान्ड्रा वुल्नरको मनोवैज्ञानिक ड्रामा ‘एभ्रिटाइम’ले प्राप्त गर्‍यो । यसपछिको दोस्रो महत्त्वपूर्ण अवार्ड नेपालले जितेको हो । योसँगै कान्समा नेपाली फिल्मले इतिहास रचेको छ ।

कान्सको समापन समारोहमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल पनि उपस्थित थिइन् । उनले ‘एलिफेन्ट्स इन द फग’ले अवार्ड जितेको एक भिडियो सामाजिक सञ्जालमा सेअर गर्दै लेखेकी छन्, ‘कान्स फिल्म फेस्टिभलमा नेपालले भर्खरै इतिहास रचेको छ । यो केवल एक फिल्मको जित होइन, नेपाली फिल्मका लागि ऐतिहासिक क्षण हो ।’

यो फिल्मको बिहीबार कान्समा वर्ल्ड प्रिमियर भएपछि विश्वका चर्चित फिल्मकर्मीहरूले प्रशंसा गरेका थिए । बलिउडका प्रसिद्ध निर्देशक तथा कलाकार अनुराग कश्यपले लेटरबक्सडीमा प्रतिक्रिया जनाउँदै यो फिल्मबाट नेपाली फिल्मले विशाल फड्को मारेको उल्लेख गरेका छन् । उनले फिल्मको क्लाइमेक्सलाई आफूले कान्समा हेरेको सबैभन्दा उत्कृष्ट दृश्य समेत भनेका छन् । 

फिल्मबारे अन्तर्राष्ट्रिय मिडियाहरूले समीक्षा समेत प्रकाशन गरेका छन् । प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले एक ट्रान्सजेन्डर समुदायमाथि आधारित मनछुने फिल्म भन्दै समीक्षा लेखेको छ । निर्देशक शाहले दक्षिण एसियामा ट्रान्स पहिचानप्रतिको स्वीकृतिको लेनदेनमुखी स्वरूपलाई सूक्ष्म रूपमा प्रस्तुत गरेको समीक्षामा उल्लेख छ ।  

‘एलिफेन्ट्स इन द फग’ले जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको छ । यसमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ । यो फिल्मलाई यसै वर्ष नेपालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । 

Most Visited News (monthly)