
‘जात्रा’ समूहको नयाँ फिल्म ‘लालीबजार’ले प्रदर्शनपूर्व ठूलो उतारचढाव भोग्यो । कहिले अदालतमा मुद्धा पर्दा रिलिज नै रोकियो त कहिले ‘खरानी ग्याङ’को फिल्म भन्दै सामाजिक सञ्जालमा बहिष्कारको अभियान समेत चल्यो । यसले फिल्मको व्यापारमा ठूलो असर गर्न सक्ने धेरैको आँकलन थियो । तर, फिल्मको व्यापारिक नतिजा अनुमान विपरित आएको छ ।
दर्शकीय प्रतिक्रिया उत्कृष्ट प्राप्त हुँदा फिल्मले प्रदर्शनको दोस्रो दिन (शनिबार)बाट व्यापारिक गति बढाएको थियो । दोस्रो सातासम्म बक्स अफिसमा आफ्नो पकड कायम राखेको यो फिल्मले १४ दिनमा ५ करोडको आँकडा पार गरेको छ । फिल्मले जेठ ७ गते साँझ ११ः५९ बजेसम्म ५ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ ।
षट्कोण आर्ट्सका सीइओ म्याक्स दीपेश खत्रीले फिल्मले दर्शकलाई सन्तुष्ट बनाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘फिल्मले आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्वलाई दर्शाएका कारण आम दर्शकले त्यसमा ‘रिलेट’ गर्नुभएको छ । हामीलाई विश्वास गरेर आउनुभएका दर्शक सन्तुष्ट भएर फर्किनुभएको छ, त्यो हाम्रो ठूलो सफलता हो ।’
यो फिल्मको व्यापारले सबैभन्दा ठूलो राहत अभिनेत्री स्वस्तिमा खड्कालाई दिएको छ । उनका पछिल्ला तीन फिल्म ‘बेहुली फ्रम मेघौली, ‘वसन्त’ र ‘हरिबहादुरको जुत्ता’ले व्यावसायिक सफलता हासिल गर्न सकेका थिएनन् । ‘लालीबजार’ भने यस वर्षको पहिलो हिट बन्ने निश्चित प्रायः देखिन्छ । यो फिल्मले स्वस्तिमाको स्टारडम समेत प्रमाणित गरेको विश्लेषण भइरहेको छ ।
यम थापाको निर्देशनमा बनेको यस फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, रमेश बादी, तारा शर्मा लगायतको अभिनय रहेको छ । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्मातामा छन् ।

