टिकटक स्टार तथा अभिनेता पारस बम ठकुरी (कुल ब्वाय) र अभिनेत्री दिव्या रायमाझीको मुख्य भूमिका रहेको फिल्म ‘बेहुली’को छायांकन सकिएको छ । बिहीबार अन्तिम दृश्य खिचिएसँगै ४५ दिनमा फिल्मको छायांकन पूरा भएको हो । फिल्मका दुईवटा गीत भने खिच्न बाँकी राखिएको छ । यो फिल्म भदौ १२ गते प्रदर्शन हुँदैछ ।
‘होस्टेल ३’का निर्देशक सशान कँडेलको निर्देशनमा बनेको यस फिल्ममा पारस र दिव्यासहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, समायरा थापा मगरलगायतका कलाकारहरूको अभिनय रहेको छ । पहिलो पटक पारस र दिव्यालाई पर्दामा हेर्न दर्शकलाई रोचक हुने देखिन्छ ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्मलाई संगीतकार अर्जुन पोखरेलले निर्माण गरेका हुन् । दुई दशकदेखि गीतसंगीत क्षेत्रमा सक्रिय उनी यही फिल्ममार्फत निर्माणमा होमिएका हुन् । उनले संगीत भरेका ‘तिमी रोएको पल’, ‘सँग सँगै सहेको’, ‘नबोली नबोली’, ‘मेसो मिलाएर’, ‘रहर छ सँगै’ जस्ता गीत निकै लोकप्रिय छन् ।
माधव शर्माको लेखन रहेको फिल्ममा सुमन थिङ तामाङ कार्यकारी निर्माता तथा दुर्गा खरेल (गायिका) र रमेश सिलवाल सह-निर्मातामा रहेका छन् । शङ्कर कोइराला क्रिएटिभ प्रोड्युसरको रूपमा छन् । फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् भने सम्पादन विकास दाहालले गर्नेछन् । फिल्ममा द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ ।

