.jpg)
आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कमला मिस’को टिजर सार्वजनिक गरिएको छ । झन्डै दुई मिनेट लम्बाइको टिजरले फिल्मको कथावस्तु प्रस्ट पार्न खोजेको छ । आमाबुबाको मायाबाट बञ्चित एक बालकको मनोविज्ञान र त्यसले उसको जीवनमा पार्ने प्रभावलाई फिल्मले भावनात्मक रूपमा प्रस्तुत गरेको टिजरले संकेत गर्छ ।
अभिनेता नीर शाहको निर्देशनमा बनेको यस फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् भने रमेश बुढाथोकी, बासना तिमल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, सञ्जय खतिवडा, भोला सुवेदी (आरजे प्रणव) लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको यस फिल्ममा उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्मातामा छन् । फिल्मको कथा स्वर्गीय साहित्यकार विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन तथा युग भुसालको संगीत रहेको छ ।
‘कमला मिस’बाट नीर शाह करिब १० वर्षपछि निर्देशनमा फर्किएका हुन् । पछिल्लो पटक उनले सन् २०१५ मा साहित्यकार डायमनसम्शेर राणाको उपन्यास ‘सेतो बाघ’मा आधारित सोही नामको फिल्म निर्देशन गरेका थिए । यसबाहेक उनले ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’ र ‘मसान’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

