Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मितज्यू’ र ‘काजी’ले कति पाए शो ?

फिल्मीखबर, काठमाडौं, 2026/05/21

kaji and mityu

 

दुई सातादेखि घरेलु बक्स अफिसमा आफ्नो पकड कायम राखेको फिल्म ‘लालीबजार’लाई चुनौती दिन भोलि शुक्रबार अर्थात् ८ जेठमा दुई प्रतीक्षित फिल्म ‘मितज्यू’ र ‘काजी’ एकसाथ प्रदर्शनमा आउँदैछन् । ग्रामीण कथावस्तुमा आधारित यी दुवै फिल्ममा कलाकारहरूको बलियो ‘लाइनअप’ रहेकाले व्यापारिक नतिजा राम्रो आउने अनुमान गरिएको छ ।

बुधबारबाट देशभरका मल्टीप्लेक्स हलहरूले शो तालिका सार्वजनिक गर्दै दुवै फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन् । बिहीबार दिउँसो १२ बजेसम्म ‘मितज्यू’लाई देशव्यापी ११४ शो उपलब्ध भएको डिजिटल वालेट खल्ती एपमा देखिन्छ । ‘काजी’को शो संख्या भने ८२ शो छ । अब दुवै फिल्मलाई सबैभन्दा ठूलो चुनौती भनेको प्राप्त शोलाई अकुपेन्सीमा बदल्नु हो ।

मितेरी साइनोको कथामा बनेको ‘मितज्यू’मा दयाहाङ राई, सौगात मल्ल, टेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन, अनुषा राईलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्मका लगानीकर्ता जनक घर्ती मगर हुन् ।

पारिवारिक प्रेमकथामा आधारित ‘काजी’मा भने विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । लक्ष्मण रिजालको निर्देशनमा बनेको यस फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, अनुराग कुँवर, हिउँवाला गौतम लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

Most Visited News (monthly)