
बुधबार विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अविनाश विक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’को वर्ल्ड प्रिमियर भएको छ । प्रिमियरअघि निर्देशक शाहसहित फिल्मका मुख्य कलाकारहरू पुष्प थिङ लामा, सहद दिन मिया, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, चयन अधिकारीलगायत कान्सको रेड कार्पेटमा प्रस्तुत भएका थिए ।
कान्समा उक्त फिल्म हेरेपछि विश्वका चर्चित फिल्मकर्मीहरूले विभिन्न माध्यमबाट प्रतिक्रिया जनाइरहेका छन् । प्रसिद्ध बलिउड निर्देशक तथा कलाकार अनुराग कश्यपले बुधबार लेटरबक्सडी (फिल्महरूको मूल्याङ्कन र समीक्षा गर्ने प्लाटफर्म)मार्फत फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका छन् । यो फिल्मबाट नेपाली फिल्मले विशाल फड्को मारेको उनको भनाइ छ ।
उनले लेखेका छन्, ‘कान्समा अहिलेसम्म मैले देखेको सबैभन्दा उत्कृष्ट अन्तिम दृश्य यही हो । ‘एलिफेन्ट्स इन द फग’ मार्फत नेपाली फिल्मले ठूलो फड्को मारेको छ । दीपक रौनियारका ‘ह्वाइट सन र ‘पूजा, सर’ तथा मीन बहादुर भामका ‘कालो पोथी’ र शाम्बाला’पछि, अविनाश विक्रम शाहले लेखकबाट एक उत्कृष्ट फिल्म निर्देशकका रूपमा अत्यन्त सुन्दर रूपान्तरण गरेका छन् ।’
अनुरागले फिल्मकी मुख्य अभिनेत्री पुष्पा थिङको अभिनयको पनि प्रशंसा गरेका छन् । पुष्पाले फिल्ममार्फत आफूलाई अत्यन्त शक्तिशाली कलाकारका रूपमा प्रस्तुत गरेको उनको भनाइ छ । अनुरागसँगै लेटरबक्सडीमार्फत विश्वका अन्य फिल्मकर्मीहरूले पनि ‘एलिफेन्ट्स इन द फग’को प्रस्तुतिकरणदेखि विषयवस्तुसम्मको सराहना गरेका छन् ।
कान्समा प्रिमियर भएसँगै केही अन्तर्राष्ट्रिय मिडियामा फिल्मको समीक्षा पनि प्रकाशित भएको छ । प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले एक ट्रान्सजेन्डर समुदायमाथि आधारित मनछुने फिल्म भन्दै समीक्षा लेखेको छ । निर्देशक अविनाश विक्रम शाहले दक्षिण एसियामा ट्रान्स पहिचानप्रतिको स्वीकृतिको लेनदेनमुखी स्वरूपलाई सूक्ष्म रूपमा प्रस्तुत गरेको समीक्षामा उल्लेख छ ।
कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रिमियर भएको यो फिल्म ट्रान्सजेन्डर शरणार्थीहरूको कथामा आधारित छ । केही दिनअघि सार्वजनिक भएको ट्रेलरमा जंगलमा हराएकी छोरी खोज्न एक आमाले गरेको प्रयास र त्यसमा आउने अवरोधलाई देखाइएको थियो । यो फिल्मले २०८१ सालमा ६ लाख नर्वेजियन क्रोनर (झन्डै ७६ लाख रुपैयाँ)को ‘सरफन्ड ग्रान्ट’ जितेको थियो ।

