
नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुण कुमार प्रधान निर्वाचित भएका छन् । मंगलबार काठमाडौंमा भएको संघको १८औं वार्षिक साधारण सभा तथा महाधिवेशनमा उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई ६३ मतले पछि पार्दै जित निकालेका हुन् । उनले १०९ मत प्राप्त गर्दा निर्वतमान अध्यक्ष समेत रहेका जनक ४६ मतमा सीमित भए ।
त्यस्तै, उपाध्यक्षमा सुवास गजुरेल र दीपक वली विजयी भएका छन् । सुवासले ९५ मत ल्याउँदा दीपकले ७१ मत प्राप्त गरे । महासचिवमा भने महिला निर्देशक समुन्द्र भट्ट १०६ मतका साथ विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कमल एक्चै मगरले ४७ मत प्राप्त गरे । सचिव पदमा राजबहादुर साने ८० मत प्राप्त गर्दै विजयी भए ।
यसैगरी, कोषाध्यक्षमा जनक खड्का निर्विरोध निर्वाचित हुँदा सह-कोषाध्यक्षमा उत्सव केसी विजयी भए । उनले ६६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी अमृतमान महर्जनले ४४ मत प्राप्त गरे । सोही पदमा भीषण राई पनि प्रतिस्पर्धी थिए । उनले ४२ मत पाए । निर्देशक समाजको पदाधिकारीमा निर्वाचित हुने अधिकांश अरुण प्यानलका हुन् ।
६ जना सदस्यमा भने लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमरदीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । यो संस्था निर्देशकको हकहित तथा पेशागत सुरक्षाका लागि २०५७ सालमा स्थापना भएको हो ।

