
फिल्म बहिष्कारमा परेपछि व्यापार चौपट हुन्छ भन्ने मान्यतालाई फिल्म ‘लालीबजार’ले गलत सावित गरेको छ । प्रदर्शनपूर्व ‘खरानी ग्याङ’को फिल्म भन्दै सामाजिक सञ्जालमा फिल्मविरुद्ध बहिष्कारको अभियान नै चलेको थियो । अदालतमा मुद्धा पर्दा एकपटक प्रदर्शन समेत रोकियो । तर, यसका बाबजुद पनि फिल्मले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ ।
हिजो सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणमा फिल्मले गत शनिबारसम्म ३ करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ ग्रस कमाएको उल्लेख थियो । अब फिल्मको ११ दिनको बक्स अफिस विवरण सार्वजनिक भएको छ । निर्माताले मंगलबार एक पोस्टरमार्फत फिल्मको सोमबार (हिजो)सम्मको कमाइ ४ करोड २२ लाख रुपैयाँ ग्रस रहेको जानकारी दिएका छन् ।
फिल्मले ४ करोडको आँकडा पार गरेपछि अभिनेत्री स्वस्तिमा खड्काले दर्शकलाई धन्यवाद दिएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘पहिलो हप्ता हामीले दर्शकहरूबाट अथाह माया पायौँ । फलस्वरूप फिल्मले विभिन्न आरोह-अवरोहका बाबजुद पनि प्रदर्शनको ११ दिनमै ४ करोड २९ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ । यसको श्रेय तपाईंहरू सम्पूर्ण दर्शकहरूमा जान्छ ।’
फिल्म प्रदर्शन भएदेखि स्वस्तिमा दर्शकसँग भेट गर्न काठमाडौं र मोफसलका विभिन्न हलमा पुगिरहेकी छन् । मंगलबार उनी पूर्व पुगेकी छन् । दिउँसभर विर्तामोड र दमकका विभिन्न हलमा पुगेर दर्शकहरूको प्रतिक्रिया बुझेकी उनी साँझ इलामस्थित फ्रेन्ड्स सिनेमाज पुग्ने जनाइएको छ । यसअघि उनी पोखरादेखि सुर्खेतसम्म पुगिसकेकी छन् ।
यम थापाको निर्देशनमा बनेको यस फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, रमेश बादी, तारा शर्मा लगायतको अभिनय रहेको छ । ‘जात्रा’का निर्देशक प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको यो फिल्मले बादी समुदायका आमा-छोरीको कथा पेस गरेको छ ।

