यतिबेला फ्रान्समा विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभल भइरहेको छ । यस वर्षको उक्त फेस्टिभलमा थुप्रै नेपाली फिल्मकर्मीहरूले उपस्थिति जनाएका छन् । यही बिहीबार कान्समा वर्ल्ड प्रिमियर हुन लागेको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’का निर्देशक अविनाश विक्रम शाह सोमबार फेस्टिभलको रेड कार्पेटमा सहभागी भएका थिए ।
काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोल, अभिनेता प्रदीप खड्का, निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ, ‘एक्लो’ फिल्मका निर्देशक प्रदीप शाही, निर्माता अनुप पौडेललगायतले पनि फेस्टिभलमा सहभागिता जनाएका छन् । त्यहाँ चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाली फिल्मको प्रवर्द्धन गर्न ‘स्टल’ समेत राखिएको छ ।
२४ मेसम्म आयोजना हुने कान्स फिल्म फेस्टिभलमा नेपाली अभिनेत्री अदिती बुढाथोकी पनि सहभागी भएकी छन् । उनले सोमबार फेस्टिभलको रेड कार्पेटमा हिँडेका तस्वीरहरू इन्स्टाग्राममा सेअर गरेकी छन् । शिवांगी प्रधानले तयार पारेको गाउनमा सजिएर उनी रेड कार्पेटमा प्रस्तुत भएकी थिइन् । उनी बीएमडब्लु गाडीको भारतीय प्रतिनिधिको रुपमा फेस्टिभलमा सहभागी भएकी हुन् ।
कान्सको रेड कार्पेटमा हिँडेका आकर्षक तस्वीरहरू सेअर गर्दै उनले लेखेकी छन्, ‘पहिलो पटक कान्सको रेड कार्पेटमा हिँड्नु मेरा लागि अविश्वसनीय अनुभूति रह्यो । सुन्दर अनुभवको लागि बीएमडब्लु इन्डियालाई धन्यवाद ।’ फेस्टिभलमा सहभागी हुन बीएमडब्लु गाडी चढेर पुगेकी उनी यो ब्रान्डसँग ‘मार्केटिङ इन्फ्लुएन्सर’को रुपमा जोडिएकी छन् ।
कामको कुरा गर्दा अदिती पछिल्लो पटक २०७९ सालमा प्रदर्शन भएको फिल्म ‘बाबरी’मा देखिएकी थिइन् । त्यसयता उनी नयाँ फिल्ममा आबद्ध भएकी छैनन् । २०७४ सालमा फिल्म ‘कृ’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले भारतमा थुप्रै म्यूजिक भिडियो तथा विज्ञापनमा काम गरिसकेकी छन् । उनलाई सामाजिक सञ्जालमा लाखौंले पछ्याउने गरेका छन् ।





