
अभिनेता नीर शाहले करिब १० वर्षपछि निर्देशनमा पुनरागमन गरेको फिल्म ‘कमला मिस’ साउन २२ गतेबाट प्रदर्शनमा आउँदैछ । यतिबेला पोस्ट प्रोडक्सनमा रहेको यस फिल्मको सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मकी मुख्य अभिनेत्री बासना तिमल्सिनालाई केन्द्रमा राखिएको पोस्टरले कथावस्तुबारे संकेत गरेको छ ।
‘ब्ल्याक’ थिममा तयार पारिएको पोस्टरमा बासना गम्भीर मुद्रामा कतै हेरिरहेको अवस्थामा देखिएकी छन् । विद्याकी देवी सरस्वतीको मूर्तिलाई पनि पोस्टरमा प्राथमिकताका साथ राखिएको छ । यसले फिल्मको कथा शिक्षासँग सम्बन्धित रहेको दर्शाउँछ । पोस्टरमा बासनालाई दिइएको महत्त्व हेर्दा फिल्मको मूल कथा उनकै पात्रको वरिपरि घुमेको अनुमान गर्न सकिन्छ ।
स्वर्गीय विजय मल्लको नाट्यकृति ‘कोही किन बर्बाद होस्’को कथाबाट प्रेरित भएर निर्माण भएको यस फिल्ममा बासनासहित नीर शाह, रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, सञ्जय खतिवडालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको यस फिल्ममा उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्मातामा छन् । फिल्मको कथा साहित्यकार विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन तथा युग भुसालको संगीत रहेको छ ।

