.jpg)
गत वैशाख ११ गतेदेखि २५ गतेसम्म प्रदर्शनमा आएका चार नेपाली फिल्म ‘परालको आगो’, ‘लालीबजार’, ‘मालती मंगले’ र ‘गुरु आमा’को आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक भएको छ । सोमबार चलचित्र विकास बोर्डले उपलब्ध गराएको विवरणअनुसार कमाइका हिसाबले ‘परालको आगो’ शीर्ष स्थानमा रहेको छ भने ‘लालीबजार’ दोस्रोमा छ ।
वैशाख ११ गते प्रदर्शन भएको ‘परालको आगो’ले गत शनिबारसम्म १ लाख ५१ हजार ९२८ वटा टिकट बिक्रीबापत ४ करोड २२ लाख २३ हजार ४३५ रुपैयाँ ग्रस कमाएको बोर्डको तथ्यांकमा देखिन्छ । वैशाख २५ गते प्रदर्शन भएको ‘लालीबजार’को कमाइ भने ९ दिनमा ३ करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ ग्रस छ । फिल्मका १ लाख १४ हजार ५८६ वटा टिकट बिक्री भएका छन् ।
‘लालीबजार’सँगै प्रदर्शनमा आएका अन्य दुई फिल्म ‘मालती मंगले’ र ‘गुरु आमा’को व्यापार भने कमजोर देखिन्छ । गायक रामकृष्ण ढकालले निर्माण गरेको ‘मालती मंगले’ले ९ दिनमा ५० लाख पनि कमाउन सकेको छैन । यसको गत शनिबारसम्मको कमाइ ४४ लाख ७८ हजार ६०८ रुपैयाँ ग्रस छ । यो अवधिमा फिल्मका १३ हजार ८९० वटा टिकट बिक्री भएका छन् ।
अर्को फिल्म ‘गुरु आमा’ भने कमाइको मामलामा सबैभन्दा पछाडि देखिएको छ । यसका जम्मा ८ हजार ९७४ वटा टिकट बिक्री भएका छन् भने त्यसबापत फिल्मले २८ लाख ४४ हजार ४५१ रुपैयाँ ग्रस कमाएको छ । यसरी हेर्दा वैशाखमा प्रदर्शन भएका ‘पहाड’सहित पाँच फिल्ममध्ये ‘परालको आगो’ र ‘लालीबजार’को व्यापार मात्र उत्साहजनक देखिन्छ ।

