.jpg)
‘काजी’ भन्नासाथ धेरैको स्मृतिमा आउने पहिलो नाम हो, दयाहाङ राई । ‘कबड्डी’ श्रृंखलामा उनले निभाएको काजी पात्र दर्शकमाझ यति लोकप्रिय बनेको छ कि उक्त नाम ब्रान्डजस्तै स्थापित भएको छ । तर, अब काजी दयाहाङ मात्र रहेनन्, अभिनेता विपिन कार्की पनि नयाँ फिल्म ‘काजी’मा सोही पात्रको भूमिकामा प्रस्तुत भएका छन् । यो फिल्म जेठ ८ गते प्रदर्शन हुँदैछ ।
फिल्मको ट्रेलर हेर्दा यसमा विपिनको पात्र स्वभावका हिसाबले ‘कबड्डी’को काजीभन्दा विल्कुलै फरक देखिन्छ । ‘कबड्डी’ श्रृंखलामा काजी सन्की स्वभावको छ । तर, ‘काजी’मा विपिनको पात्र मायालु देखिन्छ । यसैले आफ्नो पात्रलाई ‘कबड्डी’को काजीसँग तुलना गर्न नहुने उनको तर्क छ । नाम मिल्नुलाई भने उनी संयोग मात्र मान्छन् ।
उनी भन्छन्, ‘दयाहाङ राईले ‘कबड्डी’का श्रृंखलामा निभाउनुभएको काजी स्थापित पात्र हो । तर, ‘कबड्डी’को काजी र ‘काजी’मा मैले निभाएको पात्र फरक छ । ‘कबड्डी’मा काजी एउटा नाम मात्र हो । तर, ‘काजी’मा यो सिर्फ नाम मात्र होइन, बाउबाजेदेखिको ‘लिगेसी’ पनि हो । यसकारण यो काजी फरक छ । ‘कबड्डी’को काजीसँग नाम मिल्नु चाहिँ संयोग मात्र हो ।’
विपिन आफ्नो अघिल्लो फिल्म ‘ऊनको स्वीटर’सँग पनि ‘काजी’को कथा र पात्र दुवै दाँज्न नमिल्ने बताउँछन् । भन्छन्, ‘ऊनको स्वीटर’मा फरक प्रेमकथा थियो । ‘काजी’को संसार त्योभन्दा झनै फरक छ । यो फिल्ममा हामीले भगवान् राम र सीतासँग तुलना गरेर आदर्श प्रेम देखाएका छन् । फिल्ममा मेरो पात्रले कजिनीका लागि जे पनि गर्न सक्छ ।’
फिल्ममा विपिनको जोडीको रूपमा प्रस्तुत भएकी केकी अधिकारी ‘काजी’लाई माया र विश्वासको कथा भन्न रुचाउँछिन् । काजी र कजिनीको सम्बन्ध यसमै अडिएको उनको भनाइ छ । उनी काजी पात्रलाई त भगवान् रामभन्दा पनि माथि राखेर हेर्छिन् । भन्छिन्, ‘प्रेमको रूपमा काजीलाई रामभन्दा पनि माथि राखेर हेर्न सकिन्छ । काजीबाट त्यति माया र समर्पणको अनुभव कजिनीले गर्छे ।’
फिल्मको ट्रेलरमा कजिनी पात्रले काजीसँग बोलेको झुटबारे पनि उनले स्पष्ट पारेकी छन् । उनी भन्छिन्, ‘कजिनीका लागि सबैभन्दा ठूलो भनेको आफ्नो सम्बन्ध र काजीले उसलाई जुन दृष्टिकोणबाट हेर्छ, त्यसलाई जोगाइराख्नु हो । त्यसका लागि उसको संसारमा अरु सबै चिज सानो हो । सम्बन्ध जोगाउन झुट बोल्नु पनि उसका लागि सामान्य कुरा हो ।’
लक्ष्मण रिजालको निर्देशनमा बनेको यस फिल्ममा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीप बाबु लोहनी, प्रशंसा सुवेदीलगायतका कलाकारहरूको अभिनय रहेको छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्मका निर्माताहरू रामप्रसाद रिजाल, नेहान रिजाल र विकासराज जोशी हुन् ।

