नेपाली फिल्म क्षेत्रमा अभिनेताको जोडी कमै मात्र लोकप्रिय र सफल छन् । तर, अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लको जोडीलाई भने दर्शकले अत्याधिक रुचाएका छन् । उनीहरूको जोडीलाई ‘हिटको ग्यारेन्टी’ समेत भन्ने गरिन्छ । हुन पनि उनीहरूले एकसाथ काम गरेका प्रायः फिल्म सफल छन् । चाहे त्यो ‘लुट’ होस् वा ‘कबड्डी’ श्रृंखला ।
फिल्म ‘दुई नम्बरी’लाई छाड्ने हो भने प्रायः फिल्ममा दयाहाङ र सौगातबीच टकराव देखाइएको छ । त्यसलाई दर्शकले रुचाएका पनि छन् । एकपटक फेरि उनीहरूको टकरावपूर्ण सम्बन्ध नयाँ फिल्म ‘मितज्यू’मा देखिँदैछन् । फिल्मका टिजर र ट्रेलर हेर्ने हो भने केही दृश्यमा उनीहरू एकअर्कासँग लडिरहेका देखिन्छन् । तर, त्यसको कारण भने स्पष्ट रूपमा खुलाइएको छैन ।
ट्रेलरमा दयाहाङ र सौगातबीच मितेरी साइनो गाँसेको देखाइएको छ । अर्थात् फिल्ममा उनीहरू मितको भूमिकामा छन् । विधिपूर्वक मित लगाएपछि एकले अर्कोको नाम उच्चारण गरेर समेत बोलाउनु हुँदैन भन्ने सामाजिक मान्यता छ । तर, ‘मितज्यू’मा भने दुई मितबीच ठूलो घम्साघम्सी परेको देखिन्छ । यसले फिल्मको कथावस्तु निकै रोचक रहेको संकेत गर्छ ।
निर्देशक अनिल बुढा मगरका अनुसार दयाहाङ र सौगातबीचको मतभेद र द्वन्द्व नै फिल्मको मुख्य आकर्षण हो । उनी भन्छन्, ‘यी दुई कलाकारको टकराव फिल्ममा गजबले हेर्न पाइन्छ । उनीहरूको मतभेद र द्वन्द्व नै फिल्मको मुख्य आकर्षण हो । हामीले हेर्दा दयाहाङ र सौगात दुवै फिल्मका हिरो हुन्, तर पनि द्वन्द्व उनीहरूबीच नै हुन्छ, जुन दर्शकहरूलाई मनपर्छ भन्ने विश्वास छ ।’
यही जेठ ८ गतेबाट प्रदर्शन हुन लागेको ‘मितज्यू’मा दयाहाङ र सौगातसहित तेरिया फौजा मगर, खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ । जनक घर्ती मगरले निर्माण गरेको फिल्मलाई शिशिर बिशंखेले छायांकन र लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

