‘स्टाइलिस स्टार’को रूपमा परिचित सलिनमान बनियाँ ७ वर्षपछि फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज्’बाट अभिनयमा पुनरागमन गर्ने तयारीमा छन् । यो फिल्मको घोषणा भएदेखि नै उनको जोडी कोसँग बाँधिनेछ भन्नेबारे धेरैमा चासो देखिएको थियो । अब निर्माण पक्षले उनको अपोजिटमा देखिने अभिनेत्रीको टुंगो लगाएको छ । फिल्ममा मीना यसोदा अनुबन्धित भएकी हुन् ।
शनिबार काठमाडौंमा फिल्मका निर्माता सलोन बस्नेत र मीनाबीच लिखित सम्झौता भएको हो । अभिनयको हिसाबले मीनाको यो पहिलो फिल्म हुनेछ । नेपाल र जापान दुवै पारिवारिक पृष्ठभूमि (बुबा नेपाली र आमा जापानी) भएकी उनी नेपालभन्दा बढी जापानमा बस्ने गरेकी छन् । निर्माण पक्षले उनीबारे थप विवरण भने सार्वजनिक गरेको छैन ।
सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यस फिल्ममा सलिनमान र मीनासँगै सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ । अभिनेता अनमोल केसी पनि विशेष भूमिकामा प्रस्तुत हुने निकट स्रोतले जनाएको छ । सलिनमानको कथा रहेको यस फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गर्नेछन् । उनले यसअघि फिल्म ‘रंगी’ बनाएका थिए ।
एक्सन−लभस्टोरी कथामा बन्ने यस फिल्ममा सौरभ लामाको छायांकन, मन्दीप गौतमको पटकथा, रोमन बज्रचार्यको पार्श्व संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन, मुकेश शाहको साउन्ड डिजाइन, मनोज श्रेष्ठको भिएफएक्स तथा राजेन्द्र मोक्तानको रंग संयोजन रहनेछ । फिल्मको छायांकन र प्रदर्शन मितिबारे भने जानकारी गराइएको छैन ।

