
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’का निर्देशक माइकल चन्दले ‘हेराइ’ शीर्षकमा नयाँ फिल्म बनाउने भएका छन् । उनले शनिबार आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगबाट तयार पारिएको एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेका हुन् । फिल्मको ट्यागलाइन ‘एक हेराइ, अनेक बुझाइ’ राखिएको छ ।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा बन्ने यस फिल्मको निर्माण किशोर भट्ट, हेमन्त शाह र स्वेता विमलीले गर्नेछन् । सह–निर्मातामा राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् । दशैं आसपासबाट छायांकन सुरु गर्ने लक्ष्य राखिएको फिल्मको यतिबेला स्क्रिप्ट लेखन र कलाकार छनोटको काम भइरहेको निर्देशक चन्दले जानकारी दिए ।
माइकलले आफ्नो अघिल्लो फिल्म ‘राम नाम सत्य’ एक्सन विधामा बनाएका थिए, जसले बक्स अफिसमा साढे ३ करोडमाथि व्यापार गरेको थियो । ‘हेराइ’ भने पूर्ण रूपमा प्रेमकथामा आधारित हुने उनको भनाइ छ । उनका अनुसार फिल्मले मानिसअनुसार हेराइ र बुझाइ कसरी फरक हुन्छ भन्ने कथा प्रस्तुत गर्नेछ । फिल्मलाई यसै वर्ष रिलिज गरिने उनले बताए ।

